बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ



काठमाडौं, (नेस)

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका वरुण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको गत पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र बिगोबमोजिम ६१ लाख ५५ हजार रुपियाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी २ जनालाई ६१ लाख ५५ हजार रुपियाँ बराबरको चेक काटी दिएका थिए ।

उच्च अदालत पाटनले उक्त घटनामा ढकालले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी कैद तथा जरिवानाको फैसला गरेको थियो ।प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले अदालतको फैसला कार्यान्वयनको लागि अभियुक्त ढकाललाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्