निमा, विजय, मंगल र जुनी सर्वोत्कृष्ट



काठमाडौं, (नेस)

निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए ।

भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते । सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिन् । आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।

अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । ६ जनै खेलाडी १३औं सागमा पनि पदक जितेका थिए । मंगलबाहेक सबै खेलाडीले १३औं सागमा स्वर्ण जितेका थिए । मंगलले भने रजत हात पारेका थिए । नागरिक विकास र यो यो बैंक्युटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्