आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



न्युज अफ नेपाल काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । ‘हामी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल गर्दैछौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘समर्थन फिर्ता लिने नलिने कुरा निर्णयपछि थाहा पाइहाल्नु हुन्छ नि अहिले यत्ति भनौं ।’

सरकारको विरोध पनि गर्ने तर, समर्थन फिर्ता नलिने दोहोरो चरित्र देखाएको भन्दै माओवादी केन्द्रले आलोचना खेप्दै आएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेको परिवेशमा बस्न लागेको माओवादी केन्द्रको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

प्रतिक्रिया दिनुहोस्