गोलै नगरी नेपाल फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं ।

घरेलु टिम नेपाल जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।दशरथ रंगशालामा शनिबार भएको आफ्नो अन्तिम लिग खेलमा पाहुना टिम बंगलादेशसँग गोलरहित बराबरीमा रोकेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । तीन देश सहभागि प्रतियोगितामा यो नेपालको लगातार दोस्रो गोलरहित बराबरी नतिजा समेत हो ।

यसअघि लिगको पहिलो खेलमा नेपालले अर्को पाहुना टिम किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । योसँगै आयोजक टिम एक गोल पनि नगरी दुई अंकसहित फाइनलमा पुग्यो । फाइनल खेल सोमबार नेपाल र बंगलादेशबीच हुनेछ । जारी प्रतियोगितामा बंगलादेश एक जित र एक बराबरी नतिजासहित ४ अंक लिएर शीर्ष स्थानमा रह्यो ।बंगलादेशले उदघाटन खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो ।

त्यसो त यो प्रतियोगितामा ३ खेल खेलियो तर यही एक गोल मात्रै निस्केको छ । बंगलादेशले जितेको खेलमा पनि सो गोल आत्मघाती थियो । प्रतियोगितामा किर्गिस्तानको यु २३ टिमले एक अंक मात्रै जोडेको छ ।निशानको डेब्यु यसै प्रतियोगितामार्फन् निशान खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । २३ वर्षीय निशान ७१ औं मिनेटमा मैदानमा आएका हुन् । उनी रन्जित धिमालको स्थानमा खेल्न आएपछि उनको अन्तर्राष्ट्रिय करियर शुरु भयो । अघिल्लो खेलमा सन्जोक राई र त्रिदेव गुरुङले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्