भुवनले जिते सेन्ट्रल ओपन



नेपाल समाचारपत्र, काठमाडौं ।

भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।गोकर्ण गल्फ क्लबमा अन्तिम दिन भुवनले २ ओभर ७४ स्कोर जोड्दै कूल ७ अन्डर २ सय ८१ स्कोर गरेका हुन् । उनले दोस्रो स्थानमा रहेका एमेच्योर खेलाडी सुवास तामाङमाथि केवल १ स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारेका हुन् । उनले पहिलो दिन देखि नै शीर्ष स्थान कायम गर्दै उपाधि जितेका हुन् । योसँगै उनले १ लाख ३० हजार रकम पुरस्कार पनि प्राप्त गरे ।

दोस्रो स्थानमा रहेका सुवासले भने एमेच्योर ट्रफी मात्रै हासिल गरे । गल्फ प्रतियोगितामा एमेच्योर खेलाडी प्रोफेसनल विजेता बनेमा रकम प्रदान नगर्ने प्रावधान रहेको छ । त्यसैले, तेस्रो स्थानमा आएका शुक्र बहादुर राईले दोस्रो पुरस्कार ८४ हजार रकम प्राप्त गर्न सफल भए । यस्तै, चौथो स्थानमा आएका सञ्जय लामाले तेस्रो पुरस्कार ६० हजार नगद हासिल गरेका छन् ।अघिल्ला दिन भुवनले शुक्रमाथि २ स्ट्रोकको अग्रता लिएका थिए । तर, बिहीबार प्रतियोगिताको अन्तिम दिन फ्रन्ट नाइनको प्रतिस्पर्धा सकिँदा भुवन एक स्ट्रोकको अग्रतामा खुम्चिए । ब्याक नाइनमा भुवनले शुक्र र सुवासको गल्तीको लाभ उठाएका थिए । उनले १२औं होलमा बर्डी बनाए भने शुक्रले चार बोगी खेलेर उपाधिबाट टाढिनुपरेका थिए ।

त्यसपछि, सुवास र भुवनबीच उपाधिको प्रतिस्पर्धा भएको थियो । भुवनको सुवासमाथ २ स्ट्रोकको अग्रता थियो । भुवनले १५औं होलमा बर्डी खेले पनि १७ औं होलमा पुग्दा दुवै बराबरीमा थिए । अन्तिम १८औं होलमा सुवासले ३५ फिटबाट बर्डी खेले । तापनि, भुवनले एक स्ट्रोकको अग्रता बनाउँदै उपाधि सुरक्षित गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्