काभ्रेमा जेष्ठ नागरिक लक्षित कोभिड खोपको तयारी पुरा



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड १९ विरुद्धको खोप अभियान फागुन २३ गते देखि शुरु गर्ने गरी जिल्लाको सम्पूर्ण तयारी पुरा गरिएको छ । यस अघि ५५ वर्ष भन्दा माथीका सबै नागरिकहरु, शिक्षक तथा चालक र सह चालकलाई समेत खोप लगाउने तयारी गरेको स्वास्थ्य कार्यालयले पुनः स्थानीय पालिकाहरु मार्फत ६५ वर्षका नागरिकहरुलाई खोप लगाउने तयारी गरेको हो ।

१३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाईनेछ । खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

जिल्लामा ६५ वर्ष भन्दा माथी उमेर समुहका जेष्ठ नागरिकहरुको संख्या बनेपामा सबै भन्दा धेरै छ । बनेपा नगरपालिकामा ३ हजार ७ सय ५२, धुलिखेल नगरपालिकामा २ हजार २ सय ९४, पनौती नगरपालिकामा ३ हजार १ सय २२, पाँचखाल नगरपालिकामा २ हजार ६ सय ३८, मण्डनदेउपुर नगरपालिकामा २ हजार १ सय ५७, भुम्लु गाउँपालिकामा १ हजार २ हजार ८७, रोशी गाउँपालिकामा १ हजार ८ सय ९९ रहेका छन् ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार १ सय ६४, तेमाल गाउँपालिकामा १ हजार ४ सय ९७, महाभारत गाउँपालिकामा १ हजार २ हजार ६१, खानीखोला गाउँपालिकाका १ हजार २४ र चौरीदेउराली गाउँपालिकामा १ हजार ३ सय ९० जना लक्षित समुहका नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको छ ।

फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ । खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन हुनेछन् भने ६ सय ३० जना स्वयंसेवक रहनेछन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्