प्राविधिक समस्या झेल्दैसेयर बजार



काठमाडौं(नेस)  ।

बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जले वेवसाइट हेरेर अलमलमा परे ।नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अंकले घटेको देखिएको बजार अन्ततः दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्सेमा कारोबार हुने १२ समूहहरु मध्ये २ वटा समूह हाइड्रोपावर र अन्यको सबइन्डेक्स घटेको छ भने बाँकी सबै १० वटै समूहको सबइन्डेक्स बढेको छ ।

मंगलबार भएको संसद पुनःस्थापना पछि सेयर बजारमा उल्लास छाउने अपेक्षा गरिएको थियो । तर नेप्सेको साइटमा आएको समस्याका राम्रोसँग बजार बढ्न पाएन । प्राविधिक समस्या देखिए पछि किनबेच गर्नै द्विविधा भएको लगानीकर्ताहरुले बताएका छन् ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य बुधबार शतप्रतिशत रुपैयाँले घटेर शून्यमा झरेको नेप्सेको वेवसाइटमा देखाइएको थियो । जबकी कुनै पनि कम्पनीको सेयर मूल्य एकदैनि १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । नेप्सेले पनि समस्या देखिएको स्वीकार गरेको छ ।

समस्या समाधान भएपछि भने बजार बढ्न थाल्यो । अन्तमा सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले उकालो लागेको छ । दिनभर भएका ६९ हजार ९९४ कारोबारबाट २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्