डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत डा. ज्ञानेन्द्र विक्रम शाह नेपालको तर्फबाट दक्षिण एसियाली क्षेत्र एन्टीडोपिङ अर्गनाईजेसनको बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ वर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाईएको छ । डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ्ग सम्वन्धि गतिबिधीहरूको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ्ग सम्वन्धि कार्यहरूको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।नेपालमा हाल सम्म पनि एन्टीडोपिङ्गको कुनै संस्था नभएका कारण उक्त कार्यहरू नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङ्गको संस्था सञ्चालन गर्न निकै ठूलो धनराशि आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाइ भइरहेको जनाइएको छ ।

यस्तै, डा.शाह अन्तराष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ्ग कमिसनको सदस्यमा समेत मनोनित भएको डा. शाह स्वयंले जानकारी गराएका छन् । महासंघले विश्वभरिका आफ्ना सदस्य राष्ट्रहरूको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १ सय ८० भन्दा बढि राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो । हाड तथा जोर्नी विज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल वीर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्