केल्मे र भलिबल संघबीच सहकार्य गर्ने सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।

खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघबीच सहकार्य गर्नेगरी सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षरसहित सम्झौता पत्र आदान–प्रदान गरे ।

पहिलोपटक २ वर्षका लागि भएको सम्झौताबमोजिम केल्मेले पहिलो वर्ष महिला र पुरुष नेपाली भलिबल टोलीका लागि २० । २० सेट ट्रायकसुट, नि प्याड, अफिसियल जर्सी, मोजा, जुत्ता, २५० थान भलिबल, नेट र ट्रेनिङ्ग जर्सी प्रदान गर्नेछ । अव नेपाली भलिबल टोलीले स्पेनिस खेल सामग्री उत्पादक संस्था केल्मेको आधिकारिक सामाग्रीलाई आफ्नो ब्रान्ड बनाउने छ ।सम्झौतापश्चात् बोल्दै डाइरेक्टर न्यौपानेले नेपालको राष्ट्रिय खेल भलिबललाई केल्मीले अग्रभागमा राखेर अगाडि बढेको भन्दै पहिलोपटक २ वर्षको लागि सम्झौता भएको बताए । उनले नेपालमा फुटबलबाट शुरू भएको सहयोगको सिलसिला एपीएफ क्लब हुँदै भलिबल सम्म आइपुगेको बताए ।

उनले फुटबलमा केल्मेले गरेको सहयोगले अरु कम्पनीहरूले समेत प्रतिस्पर्धा गर्न थालेको भन्दै यो अवस्था भलिबलमा लागू होस् भन्ने कामना रहेको बताए । न्यौपानेले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नु संघको दायित्व भएको भन्दै टिम प्रशिक्षणलाई निरन्तरता प्रदान गरेमा मात्र नतिजा प्राप्त हुने बताए । उनले नेपाली टोलीको आफ्नै लोगो र पहिचानको जर्सी आईपुग्न समय लागेका कारण अहिले नै मूल्यमा त्यसलाई उजागर गर्न नसकेको र सामान आएपश्चात् उक्त कुरालाई उजागर गर्ने बताए । महासचिव जितेन्द्रबहादुर चन्दले नेपाली भलिबलका लागि ब्रान्ड बन्न लागेको केल्मीलाई भलिबलको माध्ययमले गाउँ–गाउँसम्म प्रचार प्रसार र मार्केटिङ्ग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्