नेपाल सुपर लिग फुटबल वैशाखमा हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा क्रिकेटपछि फुटबल खेलमा पनि फ्रेन्चाइज लिग शुरू हुने भएको छ । सोमबार पत्रकार सम्मेलनमा नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स मेनेजमेन्टले फ्रेन्चाइज लिग नेपाल सुपर लिग फुटबल आयोजना गर्ने घोषणा गरेको हो । यसका लागि नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहनेछ । दुई वर्षअघि लिग सञ्चालन गर्ने घोषणा भएकोमा अहिले आएर बल्ल यो प्रतियोगिता आयोजना हुन लागेको हो ।

पछिल्लोपटक गत वर्षको वैशाख र जेठमा आयोजना गर्ने भनी २०७५ मा एन्फा र आयोजक मेनेजमेन्टबीच सम्झौता भएको थियो । तर, विभिन्न कारणवश यसले निरन्तरता पाउन सकेको थिएन । आयोजकको अनुसार अब प्रतियोगिता वैसाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको हो । सिंगल राउन्ड रोबिन लिग आधारित प्रतियोगितामा हुने कूल १९ खेलहरू सबै दशरथ रंगशालामा हुने पनि जनाएको छ ।विभिन्न फ्रेन्चाइज लिग क्रिकेटमा झै यसमा पनि खेलाडी छनोट गर्न अक्सन गरिनेछ । प्रतियोगितामा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाल स्पोर्टस एन्ड इभेन्टस मेनेजमेन्टले प्रतियोगितामा सहभागिता हुने टिमको नाम, तयारी र प्रायोजकहरू हेर्ने एन्फाले जनायो । फ्रेन्चाइज लिगका लागि एन्फाले हाल १४ ‘ए’ डिभिजन क्लबबाट उत्कृष्ट १ सय ४० खेलाडी छनोट गरेर सबै प्रदेशलाई बाँड्दै टिम बनाउने बताएको थियो ।

हरेक टोलीमा विभिन्न श्रेणीका २० खेलाडी रहने र खेलाडीको श्रेणी एन्फाको सहकार्यमा छुट्टाइने मेनेजमेन्टले जनाएको छ । हरेक टोली ३ जना राष्ट्रिय खेलाडी राख्न पाउने र मैदानमा २ खेलाडी सम्म उतार्न पाइने प्रावधान गरिने बताएको छ । सुपर लिगमा सहभागी टोलीको नाम र टोलीको मालिकको जानकारी यसै महिनाभित्र गरिने पनि सोही अवसरमा बताइएको छ ।मेनेजमेन्टका सुदीप शर्माले शुरूमा टोलीको नाम प्रदेशका हिसाबले राख्ने योजना भए पनि छलफल पछि प्रदेशको सहरको नाममा राख्न उपयुक्त हुने सुझाब भएपछि त्यहीअनुसार अघि बढिएको जानकारी दिए । नेपाली फुटबलमा निजी क्षेत्रलाई प्रवेश गराउने उद्देश्य रहेको उनले जनाए । यसले खेलाडी र फुटबललाई थप व्यवसायिक बनाउने टेवा पुग्ने पनि उनले विश्वास गरे । प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्