मजदुरका लागि कल्याणकारी कोष र पेन्सन



दुर्गाप्रसाद शर्मा, पर्वत।

पर्वतको फलेवास नगरपालिकाले दैनिक ज्याला मजदुरीको भरमा दैनिकी गुजार्दै आएका असंगठित करिब १२ सय मजदुरका लागि श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ । नियमित तलब आउने जागिर र पेसा नभएका कारण दैनिक मजदुरी गरी परिवार धान्दै आएका श्रमिक तथा आर्थिकरूपमा विपन्न रहेका परिवारलाई लक्षित गरेर यो कार्यक्रम शुरु गरेको हो  ।

केही समय पहिले नै यो योजना कार्यान्वयनका लागि काम गरिरहेको नगरपालिकाले शुक्रबार नागरिक लगानी कोषसँग यसको सम्झौता मेमोरेन्डम अफ अन्डरस्ट्यांगिङ (एमओयू) गरेको छ । ‘असंगठित श्रमिकहरुको अवस्था हामीले देखेका नै छौं, बल छउन्जेल त उनीहरुले काम गर्न सक्छन्, तर उमेर ढल्केपछि परिवार र निजी जीवन व्यवस्थापन गर्न सकस पर्छ’, नगरप्रमुख पदमपाणी शर्माले भन्नुभयो– ‘पछि त्यस्तो समस्या भोग्न नपरोस् भनी श्रमिकहरुका लागि कल्याणकारी कोष बनाएर पेन्सनसमेत दिने निर्णय गरेका छौं ।’नगरपालिकाले चालू आर्थिक वर्षभित्रमा करिब १२ सय मजदुरलाई यो कार्यक्रममा संलग्न गराउने लक्ष्य राखेको छ भने हालसम्म ६ सयभन्दा बढी मजदुर यो कार्यक्रममा संलग्न भइसकेका छन् । नागरिक पेन्सन योजनामा समावेश हुन चाहने श्रमिक २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ । श्रमिकले कल्याणकारी कोषमा प्रतिमहिना ५ सय रुपियाँका दरले पैसा जम्मा गर्नेछ । त्यसमा नगरपालिकाले ५ सय र नागरिक लगानी कोषले १ सय थप गर्नेछन् । यो कोषमा आबद्ध भएका श्रमिकले पैसा जम्मा गर्न थालेको दुई वर्षपछि आवश्यकताअनुसार रकमसमेत निकाल्न पाउनेछन् भने ६० वर्ष उमेर पुगेपछि कोषबाट पेन्सन दिइनेछ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल यो योजनाका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेको र आवश्यकताअनुसार बढाउँदै लैजाने बताउनुहुन्छ । कोषमा जम्मा भएको रकम निकाल्न र पेन्सन पाउनका लागि श्रमिकले कार्यविधिअनुसार गर्दा आउने हिसाबअनुसार रकम भुक्तानी पाउने उनको भनाइ छ ।‘महिनाको ११ सय रुपियाँका दरले दुई वर्षमा २६ हजार ४ सय हुन्छ । दुई वर्षपछि कोषबाट रकम पनि निकाल्न मिल्छ । मजदुर ६० वर्ष पुगेपछि स्वतः पेन्सन शुरु हुन्छ’, उहाँले भन्नुभयो– ‘मजदुरको कोषमा वचत भएको रकमको आधारमा उसले कति पेन्सन पाउँछ भन्ने तय हुन्छ ।’ यो कार्यक्रमले मजदुरहरुको भविष्यलाई केही हदसम्म भए पनि आर्थिकरूपमा सुरक्षित गर्ने र बुढेसकालमा काम गर्न नसकेको बेलामा औषधिसमेत खान नसक्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको अपेक्षा छ ।

अब नगरपालिकाका ११ वटै वडाबाट यसमा संलग्न भइसकेकाहरुलाई परिचयपत्र वितरण गर्ने र संलग्न हुन चाहनेहरुलाई सूचीकृत गर्दै जाने काम हुने नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलको कथन छ ।पर्वतमा जलजला गाउँपालिकाले पनि यस्तै कार्यक्रम अघि बढाइरहेको छ । फलेबास नगरपालिकाले पूर्वाधार विकास, सडक विस्तार, कालीगण्डकी जलाशययुक्त परियोजनालगायतका चर्चित कार्यक्रम अघि बढाउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्