सीमामा भारतीय एसएसबीको ज्यादती दुई घण्टा नाका बन्द



यमलाल भुसाल, बुटवल  ।

रूपन्देहीको नेपाल–भारत सीमानाका सुनौलीमा भारतीय सीमा सुरक्षाबल एसएसबीले ज्यादती गरेको भन्दै नेपालीहरुले शनिबार २ घण्टा नाका अवरुद्ध बनाएका छन् ।भारतीय पक्षले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै उनीहरुले शनिबार दिउँसो सीमा नाकामा विरोध प्रदर्शन गर्दै नाका अवरुद्ध गराएका हुन् । भारततर्फबाट नेपाल आउनका लागि नाका खुला गरिए पनि नेपालीलाई भारत जान रोक लगाएपछि विरोध उत्रिएको उनीहरुले बताएका छन् ।भारततर्फ किनमेलका लागि आएका नेपालीलाई एसएसबीले सीमापारि जान दिएको थिएन ।

बुटवलबाट किनमेल गर्न आएकी मुना भण्डारीले चेकजाँचका लागि लाइनमा बस्दा एसएसबीका सुरक्षाकर्मीले आफुलाई अभद्र व्यवहार गर्दै उनीहरुको तालिम प्राप्त कुकुर छोडी दिएको गुनासो गर्नुभयो ।एसएसबीले ज्यादती गरेको यो पहिलोपटक भने हैन । सीमामा एसएसबीको ज्यादतीबारे यसअघि पनि कुरा उठ्दै आए पनि नेपाली सहेर बसेका थिए । शनिबार महिलामाथि कुकुर नै छोेडेपछि नेपालीहरुको धैर्यले जवाफ दिएको हो । उनीहरुले नेपालतर्फ इलाका प्रहरी कार्यालय बेलहिया अगाडि रहेको ब्यारिकेटर झारेर अन्तर्राष्ट्रिय नाका ठप्प बनाएका थिए ।यसअघि भारतकै व्यापारीहरुले एसएसबीको ज्यादती बढ्दै गएको विरोधमा दशगजामा एसएसबीविरुद्ध नै प्रदर्शन गरेका थिए । दशगजामै बसेका एसएसबीले नेपालबाट भारत जाने नेपालीलाई विभिन्न बहानामा दुःख दिने गरेका छन् । कोरोना समयमा बन्द भएको नाका अहिले सम्म सुचारु हुन सकेको छैन ।

त्यसैको बहाना बनाउँदै एसएसबीले मन लागेको बेला जुनसुकै नियम बनाउँदै नेपालीलाई दुःख दिने गरेका गुनासो बढ्दै गएको छ ।शनिबार भएको विरोध प्रदर्शनमा नेपालीहरुले आवागमन ठप्प पार्ने गरी नाका उत्रिए पनि नेपाल–भारतका सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको थियो । नेपाल प्रहरीका डीएसपी सत्यनारायण थापाको कमाण्डमा नेपाल प्रहरीका साथै बाक्लो संख्यामा सशस्त्र प्रहरी खटिएका थिए । उता भारततर्फ पनि एसडीएम कोतवाली प्रमुखको कमाण्डमा टोली खटिएको थियो ।एसएसबीका कमान्डेन्ट सञ्जय कुमारले अबदेखि एसएसबीले गुनासो गर्ने मौका नदिने मौखिकरूपमा प्रतिबद्धता जनाएपछि नेपाली प्रदर्शनकारी शान्त भएका थिए । करिब २ घण्टाको प्रदर्शनपछि उनीहरुले नाका छोड्दै आवागमनलाई सहज बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्