महोत्तरीमा यौन हिंसाका घटनामा वृद्धि



जलेश्वर । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् ।

महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ यौनहिंसाका घटना घटेको जानकारी दिए । उनका अनुसार जबर्जस्ती करणीमा ४५ जना संलग्न छन् भने १० जबर्जस्ती करणी उद्योगमा १३ जना संलग्न छन् । यसरी जम्मा ५८ जनाले ४१ यौनहिंसाका घटना घटाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणीको घटनामा संलग्न ४५ मध्ये २२ जनालाई र जबर्जस्ती करणी उद्योगका घटनामा संलग्न १३ मध्ये आठ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । दुवैथरीका घटनामा २८ प्रतिवादी अझै फरार रहेका तथा उनीहरुको खोजतलास भइरहेको प्रहरी उपरीक्षक केसीले बताए । यौनहिंसामा पर्ने अधिकांश महिला तथा युवायुवती २० वर्ष मुनिका र कोही कोही २४ वर्षसम्मको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यौनहिंसाका घटना घर, डेरा, होटल, टोल छिमेक, वन सबैतिर भएको तथ्याङ्कले देखाएको छ । यस सन्दर्भमा महिला अधिकारकर्मी रेखा झाले विगत केही दिनदेखि जिल्लामा अप्रत्याशित रुपमा यौनहिंसाका घटना बढ्दै गइरहेको बताए । जिल्लामा दिनानुदिन यौनहिंसाका घटना बढ्दै जानुमा विभिन्न कारण रहेको बताउँदै उनले यौनहिंसाजस्ता गतिविधिमा लागेका युवा तथा पुरुषलाई कडाभन्दा कडा कानूनी कारवाही गर्नुपर्ने माग गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहयोगी रञ्जु बरालले आधुनिकताको नाउँमा भड्किलो पहिरन, अश्लिल गीत, आवश्यकताभन्दा बढी खुलापन र सीमा नाघेर गरिएको मानवता विपरितका क्रियाकलाप यौनहिंसाका कारक तत्व रहेको भन्दै यस्ता घटनामा संलग्न जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही हुनुपर्ने बताए । उनले यस्ता घटनामा संलग्न व्यक्तिलाई प्रहरी, प्रशासन तथा न्यायिक निकायका साथै समाजले पनि बिना पूर्वाग्रह शून्य सहनशीलता अपनाइ दण्ड र सजायको भागिदार बनाइनुपर्नेमा जोड दिए ।

कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय पनि महिला हिंसाका घटनामा वृद्धि भएको छ । यसबीचमा महिला घरेलु यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।
घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने उजुरी थोरै परेका छन् ।

प्रतिक्रिया दिनुहोस्