उपाध्यक्षको ‘राजीनामा’ पदीय जिम्मेवारीमा फर्कन परमादेश



नेपाल समाचारपत्र, हेटौंडा  ।

मंसिर २९ गते बुझाएको भनिएको ‘राजीनामा’ पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको भनिएको विवादास्पद घटनाबारे उच्च अदालत पाटनको हेटौंडा इजलासले मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टलाई आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको छ ।न्यायाधीशहरु मोहम्मद साबिर हुसेन र चण्डिराज ढकालको संयुक्त इजलासले उत्प्रेषण आदेशमार्फत सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुनः कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो ।
विष्टले आफँले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा पुस २८ गते रिट दिनुभएको थियो ।

रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो । विष्टले भन्नुभयो– ‘गलत नगरेपछि न्याय अवस्य पाइन्छ ।’ उहाँले अब तीन-चार दिनमा काममा फर्कने बताउनुभयो । विष्टको पक्षमा अधिवक्ताहरु सुशीलकुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गर्नुभएको थियो ।उपाध्यक्ष विष्टको ‘राजीनामा’को विषयले केही दिनअघि धेरै चर्चा पाएको थियो । विभिन्न सञ्चारमाध्यमले प्रकाशन गरेको समाचारप्रति पालिकाले आपत्ति जनाएर अध्यक्ष एकराज उप्रेतीद्वारा विज्ञप्तिसमेत जारी गरेर राजीनामाको कुरा भ्रामक भएको जानकारी गराइएको थियो ।पालिकाको कार्यालयमा राजीनामा दर्ता नै नभएको पालिका अध्यक्ष उप्रेतीले बताउनुभएको थियो । ‘कार्यालयमा तपाईंहरु जो आए पनि राजीनामाको पेपर भेट्नुभयो भनेमात्र समाचार लेख्नस् । आधारहीन समाचार सम्प्रेषण गरेर जनतामा भ्रम नफैलाउनुस्’ भन्ने अभिव्यक्ति उहाँले दिनुभएको थियो । तर, उहाँले यस्तो अभिव्यक्ति दिएको दुई हप्ता नबित्दै उपाध्यक्षको राजीनामा स्वीकृत गरिएको जानकारी दिइएको थियो ।

यसअघि उपाध्यक्षको राजीनामा पेस भएको कुरा भ्रामक रहेको अध्यक्ष आफैले पुष्टि गर्दै आउनुभएको थियो । पछिल्लो समय नेकपाभित्रको राजनीतिक घटनाक्रमसँगै पालिकाको विवाद उत्कर्षमा पुगेको आँकलन गरिएको छ ।उपाध्यक्ष विष्टको राजीनामासहित अध्यक्ष र कर्मचारीसँग विवाद बढेको भन्ने समाचार आएपछि पुस १ गते कार्यपालिका बैठक बस्यो । बैठकको माइन्युटमा लेखिएको थियो– ‘गाउँपालिका उपाध्यक्ष विष्टले आफ्नो पदबाट राजीनामा दिएको भन्ने विषयसँग जोडेर भ्रामक र कपोकल्पित विषयहरु समेटेर सञ्चारमाध्यममा आएका खबरबारे कार्यपालिका बैठकमा गम्भीर ध्यानाकर्षण भयो । पुष्टयाइँबिना सत्यतथ्य नबुझी भ्रमपुर्ण, कपोकल्पित आरोपका समाचार आउनु दुःखद र भत्र्सनायोग्य र खेदपुर्ण छ । मिडियाकर्मीले समाचार प्रकाशन÷प्रसारण गर्दा आधिकारिकरुपमा बुझी प्रकाशन-प्रसारण गर्नुहुन बैठक हार्दिक आग्रह गर्दछ ।’

उपाध्यक्ष विष्टले पत्रकार भेटमा पालिकाका कर्मचारीले कीर्ते राजीनामापत्र बनाएर दर्ता गरेको बताउनुभएको थियो । आफुले राजीनामा नदिएको ठोकुवा गर्दै उपाध्यक्ष विष्टले योजनाबद्ध षड्यन्त्र गरी फसाउन खोजिएको बताएकी थियो ।उपाध्यक्ष विष्टले भने आफुले दिँदै नदिएको राजीनामा कसरी स्वीकृत हुन्छ भन्ने प्रश्न गर्नुभयो । अध्यक्ष उप्रेती र उपाध्यक्ष विष्टका यी दुई भनाइले अन्यौल सिर्जना गरेको थियो । ‘ममाथि षड्यन्त्र भएको थियो’, उपाध्यक्ष विष्टले भन्नुभयो– ‘म जनताले अभिमत दिएर जनप्रतिनिधि भएकी हुँ। जनतालाई घात हुने कार्य हालसम्म गरेकी छैन ।’देशको राजनीतिक अस्थिरता, पार्टी गुटमा रहेको बेला आफु कुनै गुट नभएर कम्युनिस्ट विचारधारमा रहेको तर यहाँ त्यसको प्रभावले आफँमाथि यस्तो व्यवहार देखिएको हो कि भन्ने शंका रहेको उपाध्यक्ष विष्टले पत्रकार सम्मेलनमा भन्नुभएको थियो ।

राजीनामा स्वीकृत भएको भनिएको विषय अध्यक्ष उप्रेती वा उपाध्यक्ष विष्टको मात्रै रहेन, नेपाल कम्युनिस्ट पार्टीको फुटसँग जोडिएर अघि बढ्यो । फुटसँगै ओली पक्षतिर लाग्नुभएका उप्रेतीले २० दिनपछि राजीनामा स्वीकृत भएको खबर सार्वजनिक हुनुलाई फुटकै असरका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्