मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ



भक्तपुर, (नेस)  ।

मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने कुलबहादुर तामाङ, ओखलढुंगा खिजी देम्बा गाउँपालिका–२ बस्ने पञ्चमान तामाङ, ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने गोविन्द गौतम रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको समन्वयमा ओखलढुंगाबाट पक्राउ गरिएको हो । गत पुस ६ गते भक्तपुर सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाको आफ्नै कम्पाउन्डमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१० प ७१४१ र माघ ८ गते भक्तपुर बाराहीस्थानस्थित डेरा गरी बस्ने पेम्बा तामाङको डेरा कोठाअगाडि पार्किङ गरी राखेको प्रदेश २–०२० प ८८२७ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले खोजी गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई मोटरसाइकलसहित फेला पारी गत माघ २४ गते पक्राउ गरेको थियो ।

यसै गरी माघ ४ गते राति भक्तपुर भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा जाँच गर्ने क्रममा बा९८प ८९६४ नम्बरको हरिगोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर धोबीघाट बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका अभिषेक योञ्जन र भक्तपुर सुर्यविनायक बस्ने दोलखा शैलुङ गाउँपालिका–६ घर भएका सुमन नेपाली रहेका छन् ।साथै भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प ७०४८ नम्बरको कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सुर्यविनायकमा बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका फुर्वा तामाङ र राजु तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्