जिप दुर्घटनामा ३ को मृत्यु



गुल्मी, (नेस)  ।

गुल्मीमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बुधबार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारका लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जिपमा २ जना हामफालेका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिब ६ सय मिटर तल खसेको (डीएसपी) पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्