‘ज्यानमारा भीर’ मा बाटो धमाधम



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका–४ स्थित बहुचर्चित परेवाभीर खण्डमा अब लडेर र खोलाले बगाउ“दा स्थानीयले ज्यान गुमाउनुनपर्ने भएको छ । मनहरी खोलामा पर्ने परेवाभीर स्थानीयका लागि हैरानीको विषय बनेको थियो ।
पालिकाले चालु आर्थिक वर्षमा दुई करोड बिनियोजन गरी बहुवर्षीय ठेक्का लगाएसँगै परेवाभीर खण्डमा जगसहित सडक निर्माण जारी रहेको हो ।

मनहरी खोला किनारमा जग बनाएर रडसहित कंक्रिट पर्खाल निर्माण गरी परेवाभीरको किनारैकिनारै बाटो निर्माणले गति लिएको छ । परेवाभीर खण्ड ६ सय ३० मिटर लम्बाई खण्डमा बलियो कंक्रिट पर्खाल उठाएर सडक निर्माण गरिँदैछ । उक्त सडकका लागि लामो प्रयासपछि जिल्ला समन्वय समिति मकवानपुरले पनि सडकको कार्यसूची पारित गरेको थियो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने विषयसमेतको चर्चा चलेको बिकट गाउँस्थित सडकको कार्यसूची पारित गर्ने निर्णय गरिएको थियो ।

मकवानपुर क्षेत्र–२ का बिघटित प्रतिनिधिसभा सदस्य सदस्य विरोध खतिवडाको पहलमा प्राप्त दुई करोडसमेत गरी ठेक्का प्रक्रियामार्फत् निर्माण सुरु भएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट २०७७ भदौ ९ गते सशर्त अनुदानमा अर्थ मन्त्रालयमार्फत् दुई करोड व्यबस्था गर्नुभएको हो ।

परेवाभीर खण्ड निर्माणपछि मनहरी–मलेखु सवारी सञ्चालन हुने छिमेकी कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान बताउनुहुन्छ । उक्त बाटोका अंशहरु धादिङतिर बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने परेवाभीरको अवरोधका कारण ट्रयाक नै खुलेको छैन । पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्न मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटरमात्र दुरी पर्दछ ।

निर्माणकर्ता ठेकेदार कम्पनी लामा–बानियाँ जेभीसँग १८ महिनामा सडक हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ । पालिकाले परेवाभीर खण्डमा सडक निर्माणका लागि ६ करोड ६१ लाख ६९ हजार लागत लाग्ने गरी डीपीआर निर्माण गरी ठेक्का प्रक्रिया अघि बढाए पनि उक्त खण्डमा सडक निर्माण गर्न चार करोड ३२ लाख रुपियाँ लागतमा ठेक्का सकार गरी काम अघि बढाइएको छ ।

मकवानपुरको अतिबिकटमा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आउनुभएका प्रदेश सांसद् ओमबहादुर ग्लानले परेवाभीरबाट लडेर मान्छे मरे हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की संसद्मै दिनुभएको थियो । त्यसपछि मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध चिसिएको छ ।

‘करिब ६ सय मिटर रहेको उक्त चट्टानी भीरको बाटो हातले समाउँदै नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ सोही क्षेत्रका सांसद् ग्लानकै भाषामा उक्त ‘ज्यानमारा भीर’ को ‘बाटो’ हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तिमा १० हजार मानिस आवतजावत गर्नुपर्ने बाध्यतामा छन् । वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नुको बिकल्प छैन ।

राक्सिराङबाट मनहरी बजार आउँदै गर्दा मनहरी खोलाले बगाएर राक्सिराङ–४, पञ्जनी निवासी ४५ वर्षीय प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भएको थियो । उहाँलाई परेवाभीरमुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो ।
मोक्तान त एक प्रतिनिधिमात्र हुनुहुन्छ । परेवाभीरमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा वर्षेनी कम्तिमा ३ जनाको मृत्यु हुँदै आएको छ । राक्सिराङ अध्यक्ष मल्लका अनुसार परेवाभीरका कारण एक दशकमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ ।

राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७ र ८ का बासिन्दा त्यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यतामा छन् ।

प्रतिक्रिया दिनुहोस्