टाउकैमाथि एघार हजार भोल्टेजको बिजुलीतार

प्रभावित बस्तीका बासिन्दा दुर्घटनाको खतरामा



सञ्जय कार्की, रौतहट ।

घरनजिकै टाउकैमाथि एघार हजार भोल्टेजको पोल र तार छ । सो तार र पोल नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरले सार्न मान्दैन, त्यसैले स्थानीय जोखिममा परेका छन् ।विद्युत् प्राधिकरणले तार र पोल सार्न नमान्दा विस्तारित तारले बस्तीका सात घरधुरी प्रभावित बनेका छन् ।

स्थानीयले बिजुलीको पोल र तार खुला स्थानमा सार्न गरेको आग्रहलाई नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख रामअयोधि यादवले अटेर गरेपछि स्थानीय दुर्घटनाको खतरामा परेका हुन् ।कसैको घरको छत त कसैको घरको बार्दलीमै सटेर एघार हजार भोल्टेजको तार बिस्तार भएको छ । उच्च भोल्टेज प्रवाह भएको खण्डमा घरहरुमा असर पर्न सक्नेमा उनीहरु चिन्तित रहेका छन् । यसले कुनै पनि बेला क्षति पु¥याउन सक्ने भए पनि नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख यादवले विभिन्न बहाना बनाउँदै पन्छिने गरेको स्थानीयले बताए ।

स्थानीय माधव भट्टराईले ज्यान जोखिममा पर्दा समेत प्राधिकरणको बेवास्ताले आफुहरु दुःखी भएको बताउनुभयो । सो स्थानको एउटा पोल एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका तीनै प्रमुख रामअयोधि यादवले नियमानुसार सारिदिएका थिए तर अहिले आएर कानुनी प्रक्रिया झन्झटिलो रहेको भन्दै पोल सार्न आनाकानी गरेका छन् ।अर्का स्थानीय सन्तोष कार्कीले बिजुलीको करेन्ट प्रवाहबाट जोगिन बिजुलीको पोल र तार खुला स्थानमा सार्न जति खर्च लाग्छ त्यो हामीले बेहोरिदिन्छौं भन्दा पनि प्रमुख यादवले बहानाबाजी गरेर सार्न नमान्दा आफुहरुलाई चिन्तित बनाएको बताउनुभयो ।

प्राधिकरणका प्रमुखको रबैया हेर्दा बरु मानिसको ज्यान जाओस् भन्ने देखिएको उहाँको भनाइ छ । निवेदन बोकेर कैयौंपटक प्राधिकरण प्रमुखकोमा पुग्दा समेत कुनै सुनवाइ नभएको पीडितहरु बताउँछन् ।विद्युत् प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख रामअयोधी राय यादवले भने विस्तार भइसकेको पोल र तार सार्न कानुनी प्रक्रिया झन्झटिलो रहेको बताउनुभयो । उहाँले नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबाट स्पष्ट निर्देशन भएकाले आफुले केही गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्