डिजेल चोरी गर्ने समूहका तीन पक्राउ



वीरगन्ज, (नेस) ।

पर्सा प्रहरीले रातको समयमा डिजेल चोरी गरी भारततर्फ निकासी गरिरहेको अवस्थामा तेल ट्यांकरसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतोसहित मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–३ का २१ वर्षीय अशोक पाख्रिन र मकवानपुरकै मनहरी गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

उनीहरूलाई गएराति डिजेल चोरेर भराततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।उनीहरुले ना७ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नाउबाट भारततर्फ १ हजार ३ सय ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको उहाँ बताउनुहुन्छ ।

पक्राउ परेकामध्ये उप्रेती सोही ट्यांकरका चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सको मुन्सी रहेको पनि प्रहरीले जनाएको छ । वीरगन्जको नेपाल–भारत संयुक्त जाँच चौकी इलाकाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको र थप अनुसंधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्