सशस्त्र प्रहरीलाई ४ करोडको भवन



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको भवन बुधबार उद्घाटन गरिएको छ । हेटौंडा–१५, रातोमाटेमा नवनिर्मित भवनको प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय १२ बिघा १२ कठ्ठा ३ धुरमा फैलिएको छ । ३ सय ३४ वर्गमिटर ब्यारेक भवन ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रुपियाँ लागतमा निर्माणसम्पन्न भएको जानकारी दिइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धेरै कठिनाइसाथ प्रहरीले काम गरिरहेकाले प्रदेश सरकारले प्रहरीका लागि सहयोग गरिरहेको बताउनुभयो । हालसम्म प्रहरीका ४६ भवन निर्माण गरिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले सरकारले प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निकायको भौतिक संरचना निर्माण गरिरहेको र केही सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

सरकारले सुरुवाती चरणमा ४६ वटा प्रहरीचौकी, इलाका, गणलगायत सम्पन्न गरेका र केही सम्पन्नको तयारी अबस्थामा रहेको भन्दै उहाँले चालु आर्थिक वर्षमा थप २१ वटा भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । सामान्य छाप्रोमा बस्ने प्रहरीलाई भवनमा राख्नुपर्छ भन्ने उद्धेश्यले प्रहरी भवन निर्माण गरिएको भन्दै उहाँले प्रहरीलाई उच्च मनोबलसाथ काम गर्ने वातावरण बनाइने दाबी गर्नुभयो । उहाँले भन्नुभयो–प्रहरीचौकी, इलाका प्रहरीचौकी, जिल्ला प्रहरी कार्यालयमा भएका भवनका समस्या पूरा गर्न हामी लागिपरेका छौं ।

भवन निर्माणसँगै प्रदेश सरकारले प्रहरीलाई सवारीसाधन व्यबस्था गर्ने उहाँले विश्वास दिलाउनुभयो । प्रहरी खरको छानो, जस्तापाताले बारबेर गरिएको अनि भाडाको घरमा सहारा लिनुपर्ने बाध्यताप्रति गुनासो गर्दै उहाँले यस्तो अबस्थाले प्रहरीमा आत्मबल बढाउन भौतिक संरचना निर्माण गरिएको स्पष्ट पार्नुभयो । संघीय सरकारले कानुन निर्माणमा ढिलाइ गर्दा प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माणमा केही ढिला भए पनि करिब ४ दर्जन भवन निर्माण भइरहेको उहाँले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले प्रहरीको बस्ने र खाने स्थान दयनीय रहेकोमा पीडा पोख्दै यसैवर्ष थप २१ वटा भवन निर्माणको तयारी गरिनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्