नेपाल र कतारबीच हुने भनिएको क्रिकेट सिरिज स्थगित



न्युज अफ नेपाल , काठमाडौं । नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भनिएको बाइल्याट्रल टि–२० क्रिकेट सिरिज स्थगित भएको छ । आगामी फेब्रुअरी ९ देखि १२ तारिखसम्म कतारमा आयोजना हुने भनिएको क्रिकेट सिरिज स्थगित गरिएको हो ।

कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एशोसिएसनको निमन्त्रणामा उक्त प्रतियोगिता संचालन हुने कार्यसूची रहेको थियो । बढ्दो कोभिड–१९ प्रभावका कारण कतार सरकारले स्पोर्ट्स डे मा हुने क्रिकेट प्रतियोगितासँगै अन्य सम्पूर्ण प्रतियोगिताहरु प्नि स्थगित गर्न निर्देशन दिएपछि नेपाल र कतारबीच हुने भनिएको खेल पनि स्थगित भएको हो ।

कतार क्रिकेट एशोसिएसनले सरकारको निर्देशन भन्दै नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता स्थगित भएको जनाएको छ । अर्को सूचना प्रकाशित नगरुन्जेलसम्म उक्त प्रतियोगिताका लागि तय गरिएको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण क्याम्प पनि स्थगित गरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ । क्यानले आज (सोमबार) देखि बन्द प्रशिक्षण सुरु हुने गरी १८ सदस्यीय खेलाडी पनि छनोट गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्