नेवार सुन्दरीहरूद्वारा विश्व शान्तिकोे प्रार्थना



नयाँ मिस नेवाः नेपाल चयन हुन अब धेरै दिन बाँकी छैन। नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको नयाँ नजिकिएसँगै यसका प्रतियोगीहरुको व्यस्तता र चुनौती पनि बढ्दै छ। नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियानअन्तर्गत नेप्लिज फेसन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपालका प्रतियोगीहरुको व्यस्तता विभिन्न तालिम, प्रशिक्षण र भ्रमणका कारण बढ्दै गएको हो।

यसै क्रममा १५औं संस्करणको मिस नेवाः नेपाल ११४१ का प्रतियोगीहरुले राजधानीको महांकाल र संकटा मन्दिरमा पूजाआजा विश्व शान्तिका लागि प्रार्थना गरेका छन्। प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् तथा विश्वमा शान्ति होस् भन्ने कामना गर्दै शुक्रबार महांकाल मन्दिरमा लाखबत्ती बाले।

शनिबार यही कामना गर्दै नेवार सुन्दरीहरुले संकटा मन्दिरमा पनि पूजाआजा गरे। मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार सुन्दरीहरुमा नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषबारे ज्ञान अभिवृद्धि गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व शान्तिको कामना गर्दै मन्दिरमा लगेर लाखबत्ती बाली पूजाआजा गराउने क्रममा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको हो।

यस वर्षको मिस नेवाः नेपाल आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ। मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दै छन्। उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण दिइरहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्