सत्तारुढ राष्ट्रपतिलाई युवा पप स्टारको चुनौती



कम्पाला, (एजेन्सी)

युगान्डाको राष्ट्रपतीय चुनावमा अफिकाकै सबैभन्दा लामो समय सत्तामा रहेका नेताहरूमध्ये एक जनालाई अर्का एकजना ३८ वर्षीय पप स्टारले चुनौती दिइरहेका छन् । स्टेज नेम ‘बोबी वाइन’ रहेका रोवर्ट क्यागुलान्यीले मुलुककै नयाँ पिढीको प्रतिनिधित्व गर्दै छन् । यसैगरी, ७६ वर्षीय नेता योवेरी मुसेभेनीले आफँ देशको स्थिरताका लागि उम्मेदवार बनेको बताएका छन् ।

गम्भीर हिंसात्मक घटनाहरूले चुनाव प्रचार–प्रसार अभियानलाई अवरोध गरिरहेको छ । यस्ता घटनामा अहिलेसम्म दर्जनौं मानिसको ज्यान गइसकेको छ । सरकारले अहिले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति मुसेभेनीले फेसबुकले आफ्नो सत्तारुढ पार्टीलाई समर्थन गर्ने थुप्रै एकाउन्ट बन्द गरेकाले बाध्य भएर यो कदम उठाउनुपरेको स्पष्ट पारेका छन् ।

युगान्डाली प्रहरीले चुनावको दिन राजधानी कम्पालाका घर–घरका छानामा सुरक्षाकर्मी तैनाथ गरिने जानकारी दिएको छ । अहिले सशस्त्र सवारीसाधनले सडकहरूमा गस्ती गरिरहेका छन् । लगातार ३५ वर्ष सत्तामा रहँदै आएका मुसेभेनीले छैठौं कार्यकालका लागि चुनाव लड्न लागेका हुन् । राजधानी कम्पालालगायत मुलुकका अन्य थुप्रै जिल्लामा चुनाव प्रचारमाथि रोक लगाइएको छ ।

विपक्षीहरूले आफँहरूको बलियो पकड भएकाले त्यहाँ प्रचार कार्य रोकिएको दाबी गरेका छन् भने सरकारले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो कदम चालिएको बताएको छ । बोबी वाइनलगायत उनका समर्थक एवं प्रचार अभियन्ताहरूलाई पटक–पटक पक्राउ गरिसकेको छ । गत नोभेम्बरमा बोबी वाइनलाई पक्राउ गरिएपछि शुरू भएको हिंसात्मक घटनामा ५० जनाभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्