जुम्रा मार्ने औषधी कोरोना उपचारमा प्रभावकारी



लन्डन (एजेन्सी)

कोरोना भाइरसको आतंकवाट आजित विश्वमा यो विषाणुबाट मुक्तीका लागि सबै प्रकारका उपायको खोज भइरहेको छ । यसबीच जुम्रा मार्नका प्रयोग हुने औषधीबाट कोरोना भाइरसबाट मर्नेको संख्या ८० प्रतिशतसम्म घटाउन सक्ने तथ्य बाहिर आएको छ । यो चामत्कारिक औषधीको नाम आईवरमेक्टिन हो । यो औषधीको प्रयोगबाट अस्पतालमा कोरोनाबाट मर्नेको संख्यामा ८० प्रतिशत कमी आएको छ । जुम्रा मार्ने यो औषधी धेरै सस्तो पनि हो ।

शोधका क्रममा ५ सय ७३ विरामीलाई यो औषधी आईवरमेक्टिन दिइएको थियो । ती मध्य मात्र ८ जनाको मात्र मृत्यु भयो । तर यो औषधी नदिएका ५ सय १० जनामा ४४ जनाको मृत्यु भयो । यसअघि अप्रिलमा गरिएको शोधमा परजिविहरुबाट बचाउने यो औषधीले कोरोनाको युद्धमा धेरै राम्रो नतिजा दिएको बताइएको थियो । यसको एक खुराकले नै ४८ घन्टा भित्र सबै भाइरल आएनए समाप्त भएको थियो ।

लिवरपुल युनिभर्सिटीका वायरोलोजिस्ट एन्ड्यु हिलले नयाँ शोध कोरोनाको उपचार खोज गर्ने दिशामा अत्यन्तै राम्रो हुने बताए । करिब १ हजार ४ सय विरामीमा गरिएको शोधबाट प्राप्त आंकडा सार्वजनिक गरिएको हो । यद्यपी अहिले उनको शोध प्रकाशित हुनु अघि समीक्षा भइरहेको छ । यदि यो ट्रेन्ड अन्य अध्ययनमा पनि देखियो भने निश्चित रुपमा यो उपचार धेरै नै प्रभावकारी हुने उनले बताए ।

तर आलोचकहरुले हिलको अध्ययनको निष्कर्ष अपरिपक्व भएको प्रतिक्रिया दिएका छन् । आईवरमेक्टिनलाई कोरोनाको औषधीका रुपमा घोषित गर्नु अघि थप शोधको आवश्यक भएको उनीहरुले बताए । आलोचकहरुले यसअघि पनि मलेरियाको औषधी र अन्य औषधीलाई लिएर यस्तै दावी गरिएको थियो तर ती सबै गलत प्रमाणित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्