ट्रम्पको चुनाव उल्टाउने प्रयासको फोनवार्ता सार्वजनिक



वासिंगटन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको एकजना प्रमुख निर्वाचन अधिकारीलाई नोभेम्वरको राष्ट्रपतिय निर्वाचनको परिणामलाई उल्टाउन आवश्यक मात्रामा मत खोज्न अनुरोध गरेको टेलिफोन वार्ताको टेप सार्वजनिक भएको छ । ट्रम्पले सो राज्यका रिपब्लिकन मन्त्री ब्राड राफेन्सपर्जरलाई आफुले केवल ११ हजार ७ सय ८० मत भेटाउन चाहेको बताउँदै गरेको टेलिफोन रेकर्ड दि वासिंगटन पोस्टले जनाएको छ ।

तर सो टेलिफोन वार्तामा राफेन्सपर्जरले जर्जियाको मतगणना सही भएको जवाफ फर्काएको सुनिन्छ । जर्जिया लगायत अन्य राज्यमा गरी जोय बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज मत ल्याएर चुनाव जितेका थिए । ट्रम्पले मात्र २ सय ३२ मत ल्याएका थिए ।

टेप बाहिर आएपछि नव निर्वाचित उप राष्ट्रपति कमला ह्यारिसले ट्रम्पको उक्त भनाईले उनले आफ्नो पदिय अधिकार दुरुपयोग गरेको पुष्टि भएको प्रतिक्रिया दिएकी छन् । मंगलवार जर्जियामा थप दुईवटा महत्वपूर्ण चुनाव हुन लाग्दा यो टेप प्रकरण सार्वजनिक भएको हो । यस चुनावको परिणामले कुने पार्टीले सिनेटमा नियनत्रण गर्दछ भन्ने निर्धारण गर्नेछ ।

ट्रम्पले बिना कुनै ठोस प्रमाण पेश नगरी वारम्वार इलेक्टोरल मतमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका थिए । सम्पूर्ण पचास वटा राज्यले चुनावी परमाणलाई वैधानिक मान्यता दिइसकेका छन् । कंग्रेसले ६ जनवरीमा औपचारिक रुपमा चुनावी परिणामलाई अनुमोदन गर्न लागेको छ ।

यसैबिच २० जनवरीमा डेमोक्रेट बाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गर्ने भएका छन् । हल सम्म जिवित सम्पूर्ण दस जना अमेरिकी पुर्व रक्षा मन्त्रीले राष्ट्रपति ट्रम्पलाई चुनावको परिणाम माथि प्रश्न नउठाउन अनुरोध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्