मकवानपुरमा उत्पादित गाँजा पर्सामा बरामद, ७ पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज । 

लागु औषध नियन्त्रण ब्युरोले १०५ किलोग्राम लागुऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पर्साको लालपर्सा गाउँमा रोकी राखेको ना४ख ६५२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाएको छ । माल समान राख्ने ठाउँमा चेक गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको थियो ।

गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा निवासी विजय तामाङ, लक्ष्मण सिटौला, प्रभात तामाङ, रामलाल गोले, धादिङ बस्ने निरज लामा, चितवन बस्ने सानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी निवासी सहिद मियाँ रहेका छन् । सबैलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही हुने पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्