मनीषाको जिजीविषा



‘राजनीतिलाई म करिअरका रूपमा हेर्न सक्दिनँ। यसलाई सेवाका रूपमा हेर्न सक्छु। सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ। समाजसेवा गर्नका लागिअरू धेरै उपाय हामीसामु छन्। समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र?’
आफ्नो संस्मरणात्मक कृति जिजीविषामा आफूलाई क्यान्सर लागिसकेपछिका अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले दिएको जवाफ हो यो। आफू राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको मनीषाले प्रस्ट पारेकी छिन्। ‘म राजनीतिक वातावरणमा हुर्किएँ। मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटना क्रमको साक्षी पनि बनेकी छुु’, मनीषा भन्छिन्– ‘तर, यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन।’

अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति हिल्डको नेपाली अनुवाद जिजीविषा फाइन प्रिन्टबाट प्रकाशनमा आएको छ। यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका छन्। यसैको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्– ‘मैले यो किताब लेख्छु भनेर शुरु गरेकी होइन, अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरी राख्नू भन्नुभएको थियो। यो पीडाको, यो कठिनाइको कुरा पनि लेखी राख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ। र त्यसलाई पछि पुस्तकका रूपमा ल्याएकी हुँ।’

क्यान्सरपछिको भोगाइ र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखी समाजलाई आफ्नो ज्ञान दिन सके आफ्नो जीवन सार्थक हुने लागेर पुस्तक लेखेको उनको भनाइ छ। ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेका बेलामा मनुष्य जीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो।’ –उनले भनिन्। धेरैले ग्ल्यामरस लाइफमा दुःख हुन्न भन्ने सोच्छन्, तर त्यस्तो सोचेजस्तो नहुने उनले बताइन् । भनिन्– ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु। धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सनमात्र देखाउने तर मैले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी जीवनको तीतो सत्यलाई प्रकटीकरण गरेको छु। म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु।’ क्यान्सर हुनुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन्। ‘पहिला म धेरै केयरलेस थिएँ। रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेनछ, अरूलाई पनि उत्तिकै गाह्रो हुने रहेछ’, उनले भनिन्– ‘वास्तवमा मनुष्य जीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं। मलाई क्यान्सरले दिएको एउटा सन्देश पनि के हो भने मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ।’

प्रतिक्रिया दिनुहोस्