चौरसिया हत्या आरोपमा पक्राउ परेकाहरु छुटे



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका तीनजना रिहा भएका छन् । मुख्य अभियुक्त भनिएका दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । मुकेशको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका मध्य हनिफ मियाँ र देवा सहनी जनही २र२ लाख रुपैंया धरौटीमा रिहा भएका हुन् ।

अर्को एक १७ बर्षीय किशोर सवद्दीन आलमलाई भने घटनामा संलग्न नदेखिएकोले साधारण तारेखमा रिहा गरी अभिभावकको जिम्मा लगाईएको पर्सा जिल्ला अदालतले जनाएको छ । हत्याका मुख्य अभियुक्त बनाईएका अखिलेश भनिने अशेश्वर चौरसिया र उक्तम भनिने निरञ्जन तिवारालाई भने पुर्पक्षका लागि कारागार पठाईएको पर्सा जिल्ला अदालतका ५ नम्बर फाँट प्रमुख सञ्जय यादवले जानकारी दिनुभयो ।

पर्सा जिल्ला अदालतमा पाँच नम्बर बेञ्चका न्यायधीश नारायण शर्माको इजलासमा मुद्दा सुनुवाई भएको हो । न्यायधीश शर्माको आदेशमा २ जना पुर्पक्षका लागि कारागार चलान, दुईजना २र२ लाख रुपैंया धरौटीमा र एकजना साधारण तारेखमा रिहा भएका हुन् । पर्साको विन्दवासिनी गाउँपालिकामा कार्तिक ६ गते भएको सपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झडप हुँदा घाईते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो । मुकेश तत्कालिन नेकपा माओवादी केन्द्र निकटका मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्