जुद्ध बारुण यन्त्र भक्तपुरको भवन शिलान्यास : समस्यै समस्याकाबीच प्रभावकारी सेवा प्रदान गर्दै



न्युज अफ नेपाल,भक्तपुर ।

भक्तपुरको दुधपाटीमा रहेको जुद्ध बारुण यन्त्र कार्यालयको भवन शिलान्यास गरिएको छ । रु ६ करोड २६ लाख ४९ हजार ८ सय ११ रुपैयामा बन्न लागेको सो भवनको जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका कार्यकारी निर्देशक श्याम किसोर सिंह,जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख सुरज निरौलाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

भवन ब्लक ‘ए’ र ब्लक ‘बि’ गरी एउटा साढे दुई तले र अर्को तिन तल्ले नयाँ भवन बन्नेछन् । दुबै भवनमा ४÷४ वटा फायर ब्रिगेड गाडी अट्ने ठाउँ ,सभाहल र कर्मचारीहरुका लागि बस्ने कक्षको निर्माण हुने भएको छ । ७७ वर्षे इतिहास बोकेको जुद्ध बारुण यन्त्रको कार्यालय अलपत्र अवस्थामा रहेकोमा भवन लामो समयपछि व्यवस्थित रुपमा निर्माण हुन लागेको हो ।

सरकारले दमकलको जिम्मेवारी स्थानीय तहलाई दिने निर्णय गरेपनि ललितपुर र काठमाडौंमा रहेका जुद्ध बारुण यन्त्र स्थानीय तहले नै जिम्मेवारी लिएका छन् । भक्तपुर नगरपालिकाले भने अझै पनि जिम्मेवारी लिन नमानेको अवस्था रहेको छ । भक्तपुरको जुद्ध बारुण यन्त्र भने गृह मन्त्रालय अन्तर्गत सञ्चालित रहेको छ ।

बारुण यन्त्रले कोरोना महामारीबीच भवन शिलन्यास गरेको छ । तत्कालीन राणा सरकारले वि.सं. २००१ मा तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी दूधपाटीमा जुद्ध बारुण यन्त्रको कार्यालय स्थापना गरेको थियो । त्यस यता बारुण यन्त्रले निरन्तर सेवा दिँदै आइरहेको छ । कार्यालयसँग पर्याप्त दमकल छैनन् भने, भएका दमकल पनि बिग्रिएका अवस्थामा छन् ।
कार्यालयमा भएका ६ वटा दमकल मध्ये चारवटा बिग्रिएको अवस्थामा रहेका छन् । मध्यपुर थिमि नगरपालिका र सिद्धि स्मृति अस्पतालले दिएको दमकल भने चाल अवस्थामा रहेका छन् ।

भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछापसम्म पुगेर समेत जुद्ध बारुण यन्त्र भक्तपुरले सेवा दिने गरेको छ । भवन शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विभिन्न चुनौतिहरुका बाबजुत पनि कार्यालयले विपतका समयमा समेत चुस्त–दुरुस्त र प्रभावकारी सेवा दिंदै आइरहेका बताउनुभयो । कार्यालयमा स्रोतसाधनको अभावका बाबजुद पनि लामो समयदेखि सेवा दिदै आइरहेको जुद्धलाई दिगो बनाउन अब बन्ने नयाँ भवनले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख सुरज निरौला, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, केन्द्रिय आयोजना कार्यान्वयन इकाईका कार्यकारी निर्देशक श्याम किसोर सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यज्ञराज जोशी, जिल्ला आयोजना कार्यान्वयन इकाईका भवनका प्रमुख महालक्ष्मी जोशी र आवासका प्रमुख अनन्त प्रसाद आचार्य लगायतले कार्यक्रममा जुद्ध बारुण यन्त्र भक्तपुरको संरक्षण र विकासमा सबैको जिम्मेवारी भएकाले सबैले आआफ्नो क्षेत्रबाट पहल कदमी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा हेवी सवारी चालक तथा प्रशिक्षक समेत रहनुभएका सशस्त्र प्रहरी हवल्दार उत्तरबहादुर खड्कालाई कार्यालयको तर्फबाट सम्मान गरिएको थियो । १६ बर्षदेखि सशस्त्र प्रहरीमा कार्यरत हवल्दार खड्का दोलखा जिरी जिल्ला निवासी हुनुहुन्छ । जुद्ध वारुणयन्त्र कार्यालय सञ्चालनमा निकै कठिनाइ रहेको छ । जुद्ध बारुणयन्त्रको स्थापना दिवसका सहभागीहरुले दमकललाई नियमित रुपमा संचालन गर्नका लागि सरोकारवाला सबैले आवश्यक सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यालय प्रमुख निरौलाले कार्यालयका लागि एउटा सानो दमकल अपुग रहेको बताउनुभयो ।उहाँले दमकलको सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका ४ वटै नगरपालिकासँग समन्वय गरिएको बताउनुभयो । उहाँले कार्यालयलाई मजबुत बनाउन र कर्मचारीको बृत्ति बिकासका लागि चौतर्फी पहल गर्ने बताउनुभयो । जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख तथा सुचना अधिकारी विजय धौभडेलले दमकल र जनशक्ति अभाव र जीर्ण भवनका कारण समस्या परिरहेको बताउनुभयो ।

तर पत्रकार,जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला सबैको सहयोगले भक्तपुर नगरपालिका दूधपाटीमा रहेको कार्यालयले भोगचलन गर्दै आएको जग्गामा नयाँ भवन निर्माण बन्न लागेकोमा प्रसन्नता ब्यक्त गर्नुभयो । यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको अबस्थामा कार्यालयले ४ वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा दमकल जसलाई पटक पटक मर्मत गर्दै र पुरानो एउटा ट्याङ्करले सेवा दिंदै आएको छ ।

दमकल र यहाँका कर्मचारी विगत ३ वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दै आएका छन् ।कार्यालयमा हाल २८ जना कर्मचारी कार्यरत छन् ।आगलागीका घटना अत्याधिक हुने मौसममा आगो नियन्त्रण गर्न तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल लामो समयदेखि जीर्ण अवस्थामै रहेका छन् ।

जुद्ध बारुण यन्त्रका कर्मचारीले आगलागी नियन्त्रणमा जाँदा आजसम्म आगो ननिभाई नफर्केको र सडक दुर्घटना,भुकम्प,ईनारमा मान्छे खस्दा र भेल,बाढी र खोलाले मान्छे बगाउँदा पनि ज्यानको बाजी लगाएर उद्दार गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्