मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढेका कारण राजावादीको चलखेल मौलायो : सभापति शाह



यमलाल भुसाल,बुटवल ।

सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले मुलुकमा भ्रष्टाचार र कमिशनतन्त्र बढेका कारण राजावादीको चलखेल मौलाउदै गएको बताउनु भयो । पछिल्लो दुई साता देखी मुलुकका प्रमुख शहरहरुमा राजावादीहरुको प्रर्दशन बढिरहेको प्रसंग जोड्दै सभापति शाहले सत्ता संञ्चालकहरु भ्रष्टाचार र कमिशनमा लिप्त हुदा राजावादीहरुको चलखेल बढ्दै गएको दावी गर्नुभयो ।

विपी ग्राम सेवा केन्द्र समिति रुपन्देहीको आयोजनामा सोमवार आयोजित १५ सैया अस्पताल शिलन्यास समारोहमा बोल्दै सभापति शाहले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सारेर विकासका गफ दिनेहरुनै राजधानीको विपक्षमा रहेको खुलासा गर्नुभयो । नेपाली कांग्रेसका तत्कालिन केन्द्रीय कोषाध्यक्ष स्व.रामकृष्ण ताम्राकारको परिकल्पनालाई साकार रुप दिन विपी ग्राम सेवा केन्द्रमा अस्पताल निर्माण गरिएको बताउनु भयो ।

रासायनिक मल खरिदका लागि ११ अर्वको बजेट विनियोजन गर्दा पनि कमिशन नमिल्दा सरकारले किसानको लागि मल खरिद गर्न नसकेको उहाँले आरोप लगाउनु भयोे । उहाँले लोकतन्त्रको सस्थागत विकास र संविधानको कार्यान्वयन नेपाली कांग्रेसको मुख्य दायित्व रहेको भन्दै त्यसका लागि नेपाली कांग्रेस एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

विकास भनेको स्वास्थ्य ,शिक्षा , रोजगारी र कृषि क्षेत्रको विकास हो भन्दै त्यसका लागि नेपाली कांग्रेसले संसदमा सशक्त आवाज उठाउदै आएको बताउनु भयो । नेपाली कांग्रेसका रुपन्देहीका सभापति अव्दुल रज्जाकले विपी ग्राम सेवा केन्द्रमा स्थापना हुने अस्पतालबाट असहाय तथा गरिव जनतालाई स्वस्थ्य सेवा प्रदान गर्न सहजहुने बताउनु भयो ।

स्वास्थ्य , शिक्षा , रोजगारी तथा पूर्वाधार विकास सरकारको दायित्व भएता पनि वर्तमान सरकार जनताका अपरिहार्य विषयमा कमजोर देखिएको टिप्पणी गर्नुभयो । १८ करोड ४४ लाख कुल लागतमा निर्माण गर्न थालिएको उक्त अस्पतालका लागि तिलोत्तमा नगरपालिकाले गतवर्ष ३० लाख र यस वर्ष २० लाख रकम उपलब्ध गराएको वडा नम्बर ९का वडा अध्यक्ष नारायण न्यौपानेले बताउनु भयो ।

कुल साढे ५ विगाहा क्षेत्रफल रहेको विपी ग्रामको अस्पताल शिलन्यास समारोहमा विपी ग्राम सेवा केन्द्रका सभापति नेत्र बहादुर राना , नेपाली कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल , विपी ग्राम सेवा केन्द्रका सल्लाहकार हरि न्यौपाने , तिलोत्तमा १७ का वडा अध्यक्ष दान बहादुर चौधरी , सेवा केन्द्रका सचिव विनोद न्यौपाने लगाएतले बोल्दै अस्पताल निर्माणले यस क्षेत्रका जनतालाई ठुलो राहात र सहायोग पुग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्