अलाभेससँग रियल मेड्रिड स्तब्ध



लन्डन, (एजेन्सी)

स्पेनिस ला लिगा फुटबलमा अलाभेससँग रियल मेड्रिडले स्तब्ध बनेको छ । शनिबार राति भएको लिगको १०औं साताको खेलमा पाहुना टोली अलाभेसले जिनेदिन जिदानको टोली रियल मेड्रिडलाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले स्तब्ध पारेको हो । कप्तान सर्जियो रामोस, ड्यानी कार्भाहालबिनै उत्रिएको रियलले हार टार्न संघर्ष गरे पनि सकेन ।

अलाभेसले उत्कृष्ट प्रदर्शन गर्दा रियल खेलभरि नै चर्को दवाबमा परेको थियो । रियलले खेलको पाँचौं मिनेटमा गोल बेहोरेको थियो । डीबक्समा रियलका खेलाडीको हातमा बल लागेपछि पाएको पेनाल्टीमा लुकास पेरेजले गोल गर्दै अलाभेसलाई १–० ले अघि पारेका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ अलाभेसले अग्रता दोब्बर पा¥यो । रियलका गोलकिपर थिबाउट कोर्टुवाले डीबक्सभित्र गल्ती गरेपछि अलाभेसले त्यसको फाइदा उठायो । कोर्टुवाले आफ्ना साथीलाई दिएको बल अलाभेसका जोसेलुले नियन्त्रणमा लिएर खाली गोलपोस्टमा छिराएपछि रियलको हातबाट खेल टाढा पुगेको थियो ।

त्यसपछि रियलले खेलमा फर्किन संघर्ष जारी राखेको थियो । रियलको पटक–पटकको प्रयासमा अलाभेसका गोलपिकर बाधक बनेका थिए । खेलको ८६औं मिनेटमा रियलका लागि कासेमिरोले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, रियलले पटक–पटक गोलका अवसर बनाए पनि गोल गर्न नसकेपछि अन्ततः खेल अलाभेसले जित्यो । यो हारपछि १० खेलबाट रियलको मात्रै १७ अंक रहेको छ । विजयी अलाभेसको भने ११ खेलबाट १३ अंक भएको छ ।
शनिबार राति नै भएको स्पेनिस ला लिगाको अर्को खेलमा एथ्लेटिको मेड्रिडले भाग्यशाली जित निकाल्यो । लिगको नवौं चरणको खेलमा एथ्लेटिकोले भ्यालेन्सियालाई एक आत्मघाती गोलको मद्दतमा १–० गोलअन्तरले पराजित ग¥यो ।

घरेलु मैदानमा भ्यालेन्सियाले खेलको अन्तिम समयमा आफ्नै गोलपोस्टभित्र बल छिराएपछि एथ्लेटिकोले ३ अंक पक्का ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलमा एथ्लेटिकोले भ्यालेन्सियामाथि दवाब बनाएर खेलेको थियो ।

खेलको ७९औं मिनेटमा घरेलु टोली भ्यालेन्सियाका टोनी लाटोले आफ्नै पोस्टमा गोल गरेका थिए । एथ्लेटिकोका कारास्कोले डीबक्समा दिएको उत्कृष्ट क्रस पासमा आएको बल टोनी लाटोको खुट्टामा लागेर सोझै गोलपोस्टको दिशा लिएपछि भ्यालेन्सिया १–० ले पछि परेको थियो ।

त्यसपछि घरेलु टोली खेलमा फर्कन सकेन र खेल एथ्लेटिकोले जित्यो । उक्त जितसंगै एथ्लेटिको नवौं खेलपछि २३ अंक भएको छ । यता पराजित भ्यालेन्सियाको १२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्