पर्यापर्यटनको विकासका तिनाउ र दानव नदीको दायाँबायाँ करिडोर निर्माण शुरु

परियोजना सम्पन्न गर्न सवा ४ अर्ब खर्च लाग्ने



यमलाल भुसाल,बुटवल ।

रूपन्देहीको तिनाउ र दानव नदीको दायाँबायाँ पर्यापर्यटनको विकासका करिडोर निर्माण शुरु भएको छ ।
तिनाउ र दानव नदीको दायाँबायाँ दुई लेनको सडक निर्माण हुने भएको छ । पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किलोमिटर सडक निर्माण गरिनेछ ।

यसमध्ये तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किमिका लागि ठेक्का लागेको डिभिजन सडक कार्यालय बुटवलका प्रवक्ता कृष्णबहादुर कुँवरले बताउनु भयो । तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँको ठेक्का छ ।

असोजमा ठेक्का स्विकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३ वर्षमा र दानव नदी किनारमा २वर्ष ३ महिनामा सक्ने सम्झौता छ । सम्झौताअनुसार किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीले सर्भेको काम थालेको प्रवक्ता कुँवरले बताउनु भयो ।

ठेक्का भएको तिनाउपट्टि बुटवल उपमहानगर बसपार्कपछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगरघाटसम्म र दानवपट्टि बेलवासको झोलुंगे पुलदेखि नयाँगाउँको पुलसम्म सर्भे शुरु भएको छ । सर्भेलगत्तै करिडोर निर्माणको काम शुरु हुनेछ ।

करिडोर निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली क्षेत्र बनाइनेछ । त्यसको छेउमा ७र७ मिटरको दुई लेन सडक हुनेछ । सडकको छेउमा फुटपाथ बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस्