हैदराबादलाई हराएर दिल्ली फाइनलमा



नयाँदिल्ली, (एजेन्सी)
केन विलियमसन क्रिजमा जमिरहँदा सनराइजर्स हैदराबादको जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुग्ने सम्भावना थियो। विलियमसनले सानदार ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सका बलर र फिल्डरलाई हैरान पारेका थिए। तर, उनी अन्तसम्म टिक्न नसक्दा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले हराएर फाइनलको यात्रा तय गरेको छ। दिल्ली आईपीएलमा पहिलोपटक फाइनलमा पुगेको हो।

दिल्लीले १ सय ९० रनको लक्ष्य दिएकोमा हैदराबाद १ सय ७२ रनमै समेटिएको थियो। दिल्लीले आज मुम्बई इन्डियन्ससँग उपाधिका लागि भिडन्त गर्नेछ। दिल्लीले विलियमसनको विकेट लिनु नै टर्निङ प्वाइन्ट बनेको थियो। उनलाई व्यक्तिगत ६७ रनमा मार्कुस स्टोइनिसले कागिसो रबाडाद्वारा क्याच आउट गराएका थिए। उनी १७औं ओभरको पाँचौं बलमा आउट भएपछि दिल्लीले खेलमा नियन्त्रण लिएको थियो।

त्यसपछि, रबाडाले ३ विकेट लिएर दिल्लीलाई पहिलोपटक आईपीएलको फाइनलमा पु¥याउन सफल भयो। हैदराबादलाई अन्तिम १२ बलमा जितका लागि ३० रन आवश्यक परेको थियो। १९औं ओभरमा रबाडाले ८ रन खर्चेर ३ विकेट लिँदै जित सहज बनाएका थिए। उनले उक्त ओभरको दोस्रो बलमा ब्याट्सम्यान अब्दुल सामदले छक्का प्रहार गरे पनि अर्को बलमा सामद आउट भए। उनले ३३ रन बनाएका थिए।

रबाडाले अर्को बलमा रसिद खानलाई व्यक्तिगत ११ रनमा आउट गरे भने पाँचौं बलमा श्रीवात्स गोस्वामीको विकेट लिए। यसअघि पहिलो ओभरमै डेभिड वार्नरको विकेट लिएर उनले हैदराबादलाई ठूलो झट्का दिएका थिए। रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए।

यसअघि अबुधाबीको सेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। ओपनर शिखर धवनले ५० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७८ रनको योगदान दिए। सिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे। ओपनरमा आएका स्टोइनिसले ३८ रन जोडेका थिए।

उपाधि दाबेदारीमा मुम्बई अगाडि
मुम्बईले गत संस्करणमा उपाधि जितेको थियो। यस सिजनमा पनि मुम्बईको टिम सन्तुलित देखिएको छ। टिमले लिगका १४ खेलमा ९ खेल जितेर १८ अंक जोडेर उपाधि दाबेदारीमा अघि रहेको छ। मुम्बई र दिल्लीबीच यस सिजनमा यो फाइनल खेल चौथो भेट हुनेछ। यसअघिका तीन भेटमा मुम्बईले दिल्लीलाई सहजै पन्छाएको थियो।
मुम्बईले यस सिजनको पहिलो भेटमा दिल्लीलाई ५ विकेटले हरायो भने दोस्रो भेटमा ९ विकेटले पराजित गरेको थियो। दोस्रोपटकको भेटमा दिल्लीले २० ओभरमा मात्र १ सय १० रन बनाएको थियो। तेस्रो भेटमा पनि मुम्बईले २ सय रन जोडेर दिल्लीलाई ५७ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्