युभेन्ट्स बराबरीमा रोकियो



रोम, (एजेन्सी)
इटालियन ‘सिरी ए’ लिग फुटबलमा युभेन्ट्सलाई लाजियोले बराबरीमा रोकेको छ।
आइतबार राति भएको लिगको सातौं खेलमा युभेन्ट्स जितको मुखैमा पुगेर अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बनेको हो। युभेन्ट्सले अन्तिम १० सेकेन्ड बाँकी हुँदा गोल खाएपछि लाजियोको घरेलु मैदानमा १–१ गोलको बराबरीको नतिजा निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका लागि खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। मैदानको माथिल्लो क्षेत्रबाट जुआन काउडराडोले उत्कृष्ट कला देखाउँदै दिएको क्रस पासमा रोनाल्डोले हलुका टचमा बललाई जाली चुमाएपछि पहिलो हाफसम्म युभेन्ट्स १–० ले अघि रहेको थियो।
दोस्रो हाफमा भने दुवै टोलीले गोलका लागि थोरै मात्रै अवसर बनाए। युभेन्ट्सले दुईपटक गोलका अवसर बनाउँदा लाजियाले केही सुधार गर्दै दोस्रो हाफमा तीन अवसर बनाएको थियो। युभेन्ट्स जित नजिक पुगेको थियो। तर, ९० मिनेटपछि थपिएको समयको पाँचौं मिनेटको अन्तिम १० सेकेन्ड पाहुना टोली सम्हालिन नसक्दा लाजियोका फिलिपे काइसेडोले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा टुंग्यायो। उक्त नतिजा युभेन्ट्सले यो सिजन खेलेको चौथो बराबरीसमेत हो।
युभेन्ट्सका लागि गोल गरेका रोनाल्डोले भने खेलको ७५औं मिनेटमा चोट बोकेर मैदान छाडेका थिए। खराब ट्याकलमा परेका उनले खेल्न असहज महसुस गरेपछि थप जोखिम नबढाउन प्रशिक्षकले उनलाई तत्कालै सब्सिच्युट गरेका थिए। उनको स्थानमा पाउलो डिबालालाई मैदान प्रवेश गराइएको थियो। रोनाल्डोको चोट कस्तो खालको हो र उनले आगामी खेल खेल्ने÷नखेल्ने सम्भावनाबारे प्रस्ट भएको छैन। खराब ट्याकलमा पर्दा उनको देब्रे खुट्टाको गोलीगाँठो र जोर्नीमा हल्का समस्या देखिएको बताइएको छ। यो बराबरीसँगै युभेन्ट्सले ७ खेलबाट १३ अंक जोडेको छ। यता, लाजियोले भने ७ खेलबाट ११ अंक भएको छ।

प्रतिक्रिया दिनुहोस्