पलायनवादी दल



कोरोना भाइरस (कोभिड–१९) को कारण देशको अवस्था दिन–प्रतिदिन जटिल बन्दै गएको छ । संक्रमितको मृत्यु हुने दर बढिरहेको छ । सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजारभन्दा बढी पुगिसकेको छ । १ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् । महामारीमा आशा र भरोसा मानिएको सरकार आफ्नो दायित्व र कर्तव्यबाट पन्छिएको छ । अहिले बिहान–बेलुका हातमुख जोड्नै धौ–धौ हुने नागरिकहरुलाई कोरोना लाग्दा उपचार गराउन नसक्ने अवस्था सिर्जना भएको छ ।
महामारीका कारण नागरिकको अवस्था दर्दनाक हुँदा पनि सत्ताको बागडोर लिएर बसेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी, प्रमुख प्रतिपक्षल दल नेपाली कांग्रेस र अन्य राजनीतिक दल अकर्मण्यता प्रदर्शन गरिरहेका छन् । सरकारले विभिन्न बहानामा कोरोना संक्रमित नागरिकको उपचार नगर्ने निर्णय लिँदासमेत प्रतिपक्ष दलहरुले कुनै पनि आवाज उठाउन सकेका छैनन् । सरकारले कोरोना महामारीमा परेका नागरिकलाई उपचार नगर्ने जुन निर्णय लियो, त्यसप्रति सरकारमा रहेका दलको मात्र होइन, विपक्षमा रहेका राजनीतिक पार्टीहरु पनि सहमत रहेको भान भएको छ । निर्वाचनमा बेला भोट माग्न खुट्टा नै ढोग्न आउने राजनीतिक दलहरु अहिले जनताले सास्ती खेपिरहँदा कुनै पनि आवाज सुन्न तयार छैनन् । सत्तारूढ दल सिंहदरबार, बालुवाटार र खुमलटारमा रमिता देखाइरहेको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बूढानीलकण्ठ र सानेपामा दिनहुँ किचलोको खेती गरिरहेको छ । दुई तिहाइको सरकार छ । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार छ । तीनवटै तहका सरकार अहिले जनताबाट टाढा भागिरहेका छन् । आपत्–विपत्मा नभेटिने सरकार कामचाहिँ कहिले लाग्छ ? यति बेला विकास–निर्माणको काम प्रायः ठप्प छ । उद्योग–धन्दा कलकारखाना बन्दजस्तै अवस्थामा छन् । सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु हो । विश्वभर फैलिएको कोरोना संक्रमणको भ्याक्सिन अझै सर्वसाधारणका लागि उपलब्ध हुन सकिरहेको छैन । समयमा नै भेन्टिलेटर नपाउँदा कोरोना संक्रमितको मृत्यु हुने अवस्था सिर्जना हुँदै छ । के सरकारको दायित्व र कर्तव्य यति मात्र हो त– आपत्–विपत्मा परेका नागरिक उपचार नपाएर मृत्युवरण गर्दा टुलुटुलु हेरेर मात्र बस्ने ! साँढेको जुधाइमा बाच्छाको मिचाइ भनेझैं अहिले राजनीतिक दलहरुभित्र देखिएको आन्तरिक विवाद र किचलोको प्रत्यक्ष मारमा नागरिक परेका छन् । राजनीतिक दलहरुले अहिले दिनहुँ रमिता देखाइरहेका बेला कोरोना संक्रमित नागरिक भने छटपटाइरहेका छन् । के यही देख्नकाद लागि नागरिकले राजनीतिक दलका नेताहरुलाई भोट दिएका थिए ? जनताको समस्या पाखा लगाउँदा राजनीतिक दलहरु यसरी जिम्मेवारीबाट भाग्न मिल्छ ?
देश कोरोना महामारीविरुद्ध लडिरहँदा राजनीतिक दलहरु भने देशभित्र कुनै समस्या नै नभएको जस्तो गरी आफ्नो घरझगडा गरेर समय बिताइरहेका छन् । यस समयमा जनताले भोगेको महामारीको समस्यामा जुन दलले साथ दिन्छ, उसैले आगामी निर्वाचनमा मत पाउनेछ । त्यसैले कोरोनाले बनाएका घाउमा मल्हम लगाउन समयमै दल प्रकट होऊन् !

प्रतिक्रिया दिनुहोस्