धानको उत्पादनमा ह्रास



कविराज नेपाल, पाल्पा

समयमै वर्षात् भएका कारण यसवर्ष मुख्य खाद्यान्न बाली धानको उत्पादन बढ्ने आशा गरेका पाल्पाली कृषक उत्पादन लिने बेला भने निराश हुन पुगेका छन् ।

अनुकूल मौसम भएको र बाली लगाउने बेला वर्षात्ले साथ दिँदा उत्साहित भएका जिल्लाका कृषकलाई धान लगाएपछिको बेमौसमी वर्षात्का कारण उत्पादन घटेपछि निराश बनाएको हो ।

पाल्पा जिल्लामा दोस्रो मुख्य खाद्य बालीका रुपमा रहेको धानलाई पछिल्लो समयको बेमौसमी वर्षात् र रासायनिक मलको अभावले विगतका वर्षको तुलनामा यस वर्ष धानको उत्पादनमा कमी आएको कृषकको अनुभव छ ।

जिल्लाको माडी, अर्गली, कचल, सर्देवा, रामपुर धान खेतीका लागि प्रख्यात ठाउँ हुन् । यहाँ परम्परागतरूपमा धानको खेती गरिँदै आएको छ । ९ हजार ३ सय २५ हेक्टर क्षेत्रफलमा यस वर्ष धान खेती गरिएको थियो ।

समयमै रोपाइँ सकिए पनि असोज महिनामा आएको वर्षाले धानबालीलाई क्षति पु¥याउँदा उत्पादनमा असर परेको हो । सिचाइँको भरपर्दो माध्यम नभएको जिल्लामा आकाशे पानीको भरमा धान खेती गरिँदै आएको छ ।

कृषि ज्ञान केन्द्रको विवरणअनुसार विगत वर्षमा ३० हजार ४ सय ६६ मेट्रिक टन उत्पादन भए पनि यस वर्ष कमी आउने संकेत देखिएको छ ।

जिल्लामा ३६ हजार ५ सय ३७ हेक्टरमा समग्र खेती हँुदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा वर्षे धान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ ।

भारतीय रासायनिक मलको प्रयोग गर्दा पनि धानको उत्पादनमा कमी भएको अर्गलीका स्थानीय कृषक विष्णु न्यौपानेको भनाइ छ । असोज महिनामा आएको बेमौसमी वर्षातले धान वालीलाई क्षति पु¥याएकाले उत्पादनमा कमी भएको अर्का कृषक मानबहादुर थापाले बताउनुभयो ।

बेमौसमी वर्षात्सँगै रोग तथा किराको समस्या देखिएकाले यस वर्ष धानको उत्पादन राम्रो नभएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनृुभयो ।

प्रतिक्रिया दिनुहोस्