रूसद्वारा कोरोना भाइरसको दोस्रो खोप एपिभ्याक कोरोनालाई अनुमति



मस्को, (एजेन्सी)
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार देशमा दोस्रो कोरोना भाइरस खोप एपिभ्याक कोरोनालाई प्रारम्भिक चरणको परीक्षणपछि स्वीकृति दिएका छन्। यो खोप साइबेरियन बायोटेक कम्पनीले विकसित गरेको हो। पेप्टाइडमा आधारित यो खोप कोरोनाबाट बच्न दुईपटक दिनुपर्ने छ। यसलाई साइबेरियास्थित वेक्टर इन्स्टिच्युटले बनाएको हो।
दुई हप्ताअघि यसको पहिलो चरणको अध्ययन पूरा भएपछि अब यसलाई मञ्जुरी दिइएको हो। पुटिनले टेलिभिजनमा दिएको एक संवादमा भने– ‘देशको वायरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टर नोबोसिबिस्क वेक्टरले आज दोस्रो कोरोना भाइरस खाप दर्ता गरेको छ।’
खोपको सय व्यक्तिमा गरिएको शुरुआतको परीक्षण सफल रहेको पुटिनले बताए। मस्को टाइम्सका अनुसार रूसकी उपप्रधानमन्त्री तटयाना गोलिकोवा र उपभोक्ता सुरक्षा निगरानी संस्थाका प्रमुख अन्ना पोपोवाले पनि उक्त खोप लगाएको राष्ट्रपति पुटिनले जानकारी दिएका छन्। यो खोपको दुई महिने परीक्षण चलिरहेको छ र वैज्ञानिकले हालसम्म यसको परिणाम प्रकाशित गरेको छैन। गोलिकोवाले देशभर ४० हजार स्वयंसेवकलाई एपिभ्याक कोरोना खोपको अर्को चरणको परीक्षणका लागि चयन गरिने पुटिनलाई जानकारी गराएका थिए।
डिसेम्बरसम्ममा रूसको तेस्रो कोरोना भाइरस खोपलाई सरकारी अनुमति प्राप्त हुने गोलिकोवाले बताएका छन्। उनले भने– ‘एपिभ्याक कोरोना खोपको पहिलो ६० हजार डोज चाँडोभन्दा चाँडो तयार गर्ने वोक्टरको योजना रहेको छ।’
यसअघि रूसले अगस्ट ११ मा विश्वको पहिलो कोरोना भाइरस खोप ‘स्पुतनिक भी’ लाई अनुमति दिएको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्