अस्ट्रेलियामा कवारेन्टाइनविना यात्राको तयारी



सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाली सरकारले आफूले विश्वका थुप्रै मुलुकसँग कोरोना भाइरस संक्रमणको आशंकामा राखिने क्वारेन्टाइनरहित यात्राको सम्भाव्यतालाई लिएर कुराकानी भइरहेको सोमबार जनाएको छ। तर, अस्ट्रेलियाले यस्ता मुलुकको सूचीमा संयुक्त राज्य अमेरिका र युरोप नपर्ने पनि जनाएको छ।
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले यस्तो सम्झौता सबैभन्दा पहिले न्युजिल्यान्डसँग हुन लागेको जानकारी दिएका छन्। त्यसपछिका मुलुकमा जापान, सिंगापुर, दक्षिण कोरिया र प्रशान्त टापु राष्ट्रहरू रहेको बताइएको छ।
कोभिड–१९ महामारी शुरू हुनासाथ अस्ट्रेलियाले मार्च महिनामा आफ्ना सम्पूर्ण सीमा बन्द गरेको थियो। हालसम्म अस्ट्रेलियामा २७ हजार २ सय ६३ जना संक्रमित भेटिएका छन् भने ८ सय ९८ जनाको ज्यान गइसकेको छ।
विश्वका अन्य मुलुकको तुलनामा यसले निकै गम्भीररूपमा सतर्कता अपनाउँदै आएको छ। तर, हाल भिक्टोरिया राज्यमा दोस्रो चरणको महामारी फैलिन थालेपछि मेलबर्नलगायत त्यसका वरपरका क्षेत्रमा अर्को नयाँ लकडाउन लागू गरिएको छ।
फलस्वरूप नाटकीय ढंगले संक्रमण दर पनि घट्दै गइरहेको छ। शुक्रबारदेखि न्युजिल्याडवासी अस्ट्रेलियाको विनाक्वारेन्टाइन अस्ट्रेलियाको न्यु साउथवेल्स, क्यानबेरा र नर्दन टेरिटोरीजस्ता राज्यको भ्रमण गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्