ट्रम्प क्वारेन्टाइनमा, देशको सुरक्षामा न्युक्लियर डुम्सडे प्लान लागू



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावको एक महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना पोजिटिभ देखिएपछि अमेरिकी रक्षा मन्त्रालयले देशभरि सतर्कता जारी गरेको छ। ट्रम्प हाल १४ दिनको क्वारेन्टाइनमा गएका छन् भने ह्वाइट हाउसका धेरैजसो कर्मचारीलाई घरबाटै काम सम्हाल्न भनिएको छ।
राष्ट्रपति सार्वजनिक हुन नसक्ने यो विषम परिस्थितिलाई ध्यानमा राख्दै देशको सुरक्षाका लागि दुवै किनारामा न्युक्लियर डुम्सडे प्लान लागू गरेको छ। जब अमेरिकी राष्ट्रपतिसँग सार्वजनिकरूपमा कसैले सम्पर्क गर्न नसक्ने परिस्थिति बन्छ तब यो नीतिअन्तर्गत देशको सुरक्षाका लागि उक्त योजना लागू गरिन्छ। यसको माध्यमबाट देशका शत्रुलाई चेतावनी पनि दिइन्छ कि, यदि अमेरिकाविरुद्ध कुनै गतिविधि गरेमा त्यसको कडा जवाफ दिइनेछ।
यो योजनाअन्तर्गत अमेरिकाको आकाशमा ई–६बी मर्करी विमानले लगातार गस्ती लगाइरहेको छ। यो विमान अमेरिकाको हवाई परमाणु कमान्ड पोस्ट हो। बोइङ७०७ विमानको चार इन्जिनयुक्त यो विमान अत्याधुनिक सञ्चार उपकरणको सहायतामा अमेरिकी नौसेनाको ओहाइयो क्लास परमाणु ब्यालिस्टिक क्षेप्यास्त्र रहेको पनडुब्बीका नियन्त्रकसँग सीधा सम्पर्क गर्छ।
अमेरिकी नौसेनासँग यस प्रकारका १६ विमान छन्। यीमध्ये एउटाले सधंै नै अमेरिकी आकाशमा उडान भरिरहेको हुन्छ। यसअघि यो श्रेणीका दुई विमान एकसाथ उडान भरेको भन्ने सुनिएको थिएन। तर, शुक्रबार ट्रम्प कोरोना संक्रमित भएको पुष्टि भएपछि अमेरिकी आकाशमा यी दुई विमानले उडान भरेको देखिएको हो।
यदि, अमेरिकामा यो समय कसैले हमला गर्छ भने ई–६बी मर्करी विमानले सीधै ओहायो क्लास न्युक्लियर ब्यालिस्टिक मिसाइल सबमरिनलाई आदेश जारी गर्न सक्छ। त्यसलगत्तै ती पनडुब्बीले शत्रु देशका सैन्य ठेगाना वा महŒवपूर्ण शहरलाई निसाना बनाइ परमाणु क्षेप्यास्त्र प्रहार गर्न सक्छ। यसमा लामो र छोटो दुवै प्रकारको विस्तार क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्र राखिएका हुन्छन्। यी पनडुब्बी विश्वभरि फरक–फरक ठाँमा गोप्यरूपमा तैनाथ गरिएका छन्।
हाल गस्तीमा रहेका ई–६बी मर्करी विमानले आफ्नो ट्रान्सपोन्डर्स बन्द गरेका छैनन्। जसको माध्यमबाट उडान भइरहेको समय विमानको ट्र्याकिङ गर्न सकिने हुन्छ। धेरैजसो सैन्य विमानले उडान भर्ने बेला ट्र्याकिङबाट बच्न ट्रान्सपोन्डर्स बन्द गरेका हुन्छन्। तर, ई–६बी मर्करीको यस गस्ती उडानमा यो खुला हुनुलाई शत्रु देशका लागि चेतावनीका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्