ट्रम्प क्वारेन्टिनमा, देशको सुरक्षामा ‘न्यूक्लियर डुम्सडे प्लान’ लागु



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति चुनावको एक महिना अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया कोरोना पोजिटिव देखिएपछि अमेरिकी रक्षा मन्त्रालयले देशभरी सतर्कता जारी गरेको छ । ट्रम्प हाल १४ दिनको क्वारेन्टाइनमा गएका छन् भने ह्वाइट हाउसका धेरै जसो कर्मचारीलाई घरबाटै काम सम्हाल्न भनिएको छ ।

राष्ट्रपति सार्वजनिक हुन नसक्ने यो विषम परिस्थितिलाई ध्यानमा राख्दै देशको सुरक्षाका लागि दुबै किनारामा न्युक्लियर डुम्सडे प्लान लागु गरेको छ । जब अमेरिकी राष्ट्रपतिसँग सार्वजनिक रुपमा कसैले सम्पर्क गर्न नसक्ने परिस्थिति बन्छ तब यो निति अन्तर्गत देशको सुरक्षाका लागि उक्त योजना लागु गरिन्छ । यसको माध्यमबाट देशका शत्रुलाई चेतावनी पनि दिइन्छ कि यदि अमेरिका विरुद्ध कुनै गतिविधि गरेमा त्यसको कडा जवाफ दिइने छ ।

यो योजना अन्तर्गत अमेरिकाको आकासमा ई–६बी मर्करी विमानले लगातार गस्ती लगाइरहेको छन् । यो विमान अमेरिकाको हवाई परमाणु कमान्ड पोस्ट हो । बोइंग ७०७ विमानको चार इन्जिनयुक्त यो विमान अत्याधुनिक सँचार उपकरणको सहायतामा अमेरिकी नौसेनाको ओहाइयो क्लास परमाणु ब्यालिस्टिक क्षेप्यास्त्र रहेको पनडुब्बीहरुका नियन्त्रकहरुसँग सिधा सम्पर्क गर्छ ।

अमेरिकी नौसेनासँग यस प्रकारका १६ विमान छन् । यी मध्य एउटाले सँधै नै अमेरिकी आकासमा उडान भरिरहेको हुन्छ । यसअघि यो श्रेणीका दुई विमान एकसाथ उडान भरेको भन्ने सुनिएको थिएन । तर शुक्रबार ट्रम्प कोरोना संक्रमित भएको पुष्टि भएपछि अमेरिकी आकासमा यी दुई विमानले उडान भरेको देखिएको हो ।

यदि अमेरिकामा यो समय कसैले हमला गर्छ भने ई–६बी मर्करी विमानले सिधै ओहायो क्लास न्युक्लियर ब्यालिस्टिक मिसाइल सबमरिनलाई आदेश जारी गर्न सक्छ । त्यसको लगतै ती पनडुब्बीहरुले शत्रुदेशका सैन्य ठेगाना वा महत्वपुर्ण सहरलाई निसाना बनाई परमाणु क्षेप्यास्त्र प्रहार गर्न सक्छ । यसमा लामो र छोटो दुबै प्रकारको विस्तार क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्र राखिएका हुन्छन् । यी पनडुब्बीहरु विश्वभरी फरक फरक ठाउँमा गोप्य रुपमा तैनाथ गरिएका छन् ।

हाल गस्तीमा रहेका ई–६बी मर्करी विमानले आफ्नो ट्रान्सपोन्डर्स बन्द गरेको छैन । जसको माध्यमबाट उडान भयररहेको समय विमानको ट्य्राकिंग गर्न सकिने हुन्छ । धेरैजसो सैन्य विमानले उडान भर्ने बेला ट्य्राकिंगबाट बच्न ट्रान्सपोन्डर्स बन्द गरेको हुन्छ । तर ई–६बी मर्करीको यस गस्ती उडानमा यो खुला हुनुलाई शत्रु देशका लागि चेतावनीका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्