पोपद्वारा अमेरिकी विदेशमन्त्री पोम्पियोलाई भेट्न अस्वीकार



भ्याटिकन सिटी, (एजेन्सी)
क्याथोलिक इसाईका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोसँग भेट्न अस्वीकार गरेका छन्। भ्याटिकन सिटीमा बस्ने पोपका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘चुनावको बेला पोप कुनै नेतासँग भेटघाट गर्दैन।’

यद्यपि, केही सञ्चार माध्यमले पोपसँग भेट्नुअघि पोम्पियोले चीनमा मानव अधिकार उल्लंघनलाई लिएर एक अभिव्यक्ति दिएको उल्लेख गरेका छन्। पोम्पियोले भ्याटिकनको प्रयोग सत्ताको फाइदाका लागि गरोस् भन्ने नचाहेको बताइएको छ।

पोम्पियो ४ देशको यात्राका क्रममा भ्याटिकन सिटी पुगेका थिए। त्यहाँ पुग्नुअघि उनले चीनमा मानव अधिकारको उल्लंघन भइरहेको टिप्पणी गरेका थिए। चीनमा अरूसँगै इसाईलाई पनि दुःख दिइरहेको उनले उल्लेख गरे।

भ्याटिकनका अधिकारी यस अभिव्यक्तिलाई लिएर असन्तुष्ट रहेको बीबीसीले जनाएको छ। त्यसैले, जब पोम्पियोले पोप फ्रान्सिससँग भेट्न चाहे तर भ्याटिकनले त्यसलाई अस्वीकार गरेको बताइएको छ।
गत सेप्टेम्बरको शुरुवातमा पोम्पियोले एक अखबारमा आर्टिकल लेखेका थिए। लेखमा उनले भ्याटिकन सिटीको नाम उल्लेख नगरी व्यंग्य गरेका थिए। पोम्पियोले लेखमा भनेका थिए– ‘क्याथोलिक चर्च आफ्नो नौतिक विश्वसनीयता र क्षमतालाई खतरामा पु¥याउँदै छ।’

वास्तवमा भ्याटिकनले चीनसँग बिसपको नियुक्तिलाई लिएर एक सम्झौता गरेको छ। यस सम्झौतालाई लिएर भ्याटिकन पनि चीनको दबाबमा उसको सर्त मानिरहेको छ भन्ने अमेरिकालाई लागेको छ।

पोम्पियोले भनेका थिए– ‘विश्वमा धार्मिक स्वतन्त्रतालाई लिएर जति खतरा चीनमा छ, त्यति कहीं छैन।’
समाचार एजेन्सीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परम्परागत इसाई समुदायको समर्थन प्राप्त छ। योबाहेक अन्य धार्मिक संगठन पनि उनकै साथमा उभिएका छन्। मानव अधिकार संगठन पनि चीनमा इसाई समुदायका बारेमा भ्याटिकनले कुरा नउठाएको आरोप लगाउँदै आइरहेको छ।

सन् २०१८ मा चीन र भ्याटिकनबीच बिसपलाई लिएर एक सम्झौता भएको थियो। उक्त सहमतिअनुसार चीनमा चिनियाँ मूलका बिसप मात्र नियुक्ति गर्न सकिनेछ। अर्को महिना यस सम्झौताको समीक्षा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्