परमाणु हतियार बनाइसक्यौं, अब अर्थव्यवस्थामा ध्यान दिन्छौं : उत्तर कोरिया



प्योङयाङ, (एजेन्सी)

उत्तर कोरियाले प्रभावकारी तथा विश्वसनीय परमाणु हतियार भइसकेको उल्लेख गर्दै अब देशको अर्थव्यवस्था विकसित गर्न ध्यान दिने जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत किम सांगले मंगलबार उक्त दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय प्रतिबन्धले यस दिशामा रोकावट उत्पन्न गर्ने पनि उनले बताए। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै किमले देशमा महामारीविरुद्धको स्थिति अब नियन्त्रणमा रहेको जानकारी दिएका छन्।

उत्तर कोरियामा हाल एकजनामा पनि संक्रमण पुष्टि नभएको दाबी गरिएको छ। देश र जनताका लागि सुरक्षा सुनिश्चित गरेपछि अब डिपिआरको आर्थिक विकासमा ध्यान दिइरहेको किमले बताए। आर्थिक विकासका लागि कोरियाबाहिरको स्थिति अनुकूल हुन जरुरी भएको तर ठूलो परिवर्तनका लागि देश आफ्नो सम्मान बेच्न नसक्ने उनले बताए।

उत्तर कोरियालाई सैन्य शक्तिको आडमा डराउन खोजिएको आरोप उनले लगाएका छन्। त्यसैले, युद्धबाट बच्ने शक्ति हासिल भएपछि मात्र शान्ति सम्भव हुनेछ। परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण उत्तर कोरियाविरुद्ध पहिलेदेखि नै अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो। कोरोना भाइरस महामारीका कारण छिमेकी देशले आफ्नो सीमा बन्द गरेको छ जसले कोरियालाई आर्थिक नोक्सान भइरहेको छ।

गत अगस्टमा संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रममा काम गरिरहेको र अब ब्यालिस्टिक क्षेप्यास्त्रमा समायोजन हुने परमाणु अस्त्र बनाइरहेको जानकारी गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्