महामारीलाई हलुकारूपमा लिनु ट्रम्पको आपराधिक कृत्य हो: बाइडन



वासिङ्टन, (एजेन्सी)

राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जोय बाइडनले कोभिड–१९ उत्पन्न स्थिति सम्हाल्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निसाना बनाउँदै महामारीलाई हलुकारूपमा लिने उनको कार्य आपराधिक भएको र उनको प्रशासन पूर्णतः गैरजिम्मेवारी भएको आरोप लगाएका छन्।
ट्रम्पले भाइरसको गम्भीरताका बारेमा थाहा पाएर पनि उनले सार्वजनिकरूपमा यसलाई हल्का रूपमा स्वीकार गरेका छन्। उनको उक्त टिप्पणीलाई लिएर बाइडनले भने– ‘उनी यस विषयमा जानकार थिए तर केही गरेनन्। यो आपराधिक कृत्यजस्तै हो।’
महामारी फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन अमेरिकाको संघर्षलाई लिएर पनि बाइडनले अमेरिकाको मौलिक स्वतन्त्रताको कमी भएकोमा आलोचना गरेका छन्। पहिला नागरिकहरू बलगेममा जान सक्थे र वरपरका छिमेकीसँग पनि जान सक्ने उदाहरण दिँदै यस प्रकारको पूर्णरूपमा गैरजिम्मेवार प्रशासन देख्नुपर्ला भन्ने आफूलाई कहिल्यै नलागेको उनले बताए।
कोरोना भाइरस खोपका सम्बन्धमा अमेरिकी नागरिकले त्यसमा संलग्न वैज्ञानिकलाई विश्वास गर्ने तर ट्रम्पलाई नगर्ने पनि बाइडनले बताएका छन्।
अमेरिकामा चुनाव नजिकिएसँगै ट्रम्प र बाइडनबीच आरोप प्रत्यारोपको वाकयुद्ध पनि उत्कर्षमा पुगेको छ। ट्रम्पले चुनावअघि नै कोरोना खोप आउने दाबी गर्दै त्यसलाई आफ्नो उपलब्धिका रूपमा उपयोग गर्न चाहिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्