द्वन्द कलाकार पुजारीको निधन



द्वन्द्व कलाकार, सहायक द्वन्द्व निर्देशक तथा निर्माता सुरेशसिंह पुजारीको निधन भएको छ। पुजारीको शनिबार साँझ राजधानीको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनका द्वन्द्व कलाकार मित्र नानीकाजी डंगोल (नागे) का अनुसार अस्पतालमा उपचार शुरू नहुँदै उनको निधन भएको हो। डंगोलका अनुसार साँझ ५ बजे इभिनिङ वाकका क्रममा छातीमा अप्ठेरो महसुस भएपछि सुरेश एक भाइका साथ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।

अस्पतालको गेटअगाडि पुग्दासम्म आराम भइसकेको तथा अहिलेको परिस्थितिमा अस्पताल जानु जोखिम हुने सोची उनी गेटबाटै फर्केका थिए। भोटेबहालस्थित निवास फर्कने क्रममा बाटोमा आफ्नो समस्या भनी मेडिकलबाट कुनै दबाइ खरिद गरेर सेवन गरी त्रिपुरेश्वर पुग्दा छातीमा थप पीडा हुन थालेपश्चात् उनी ब्लु क्रस अस्पताल पुगेका थिए। उनीसँगै पुगेका भाइले अस्पतालका चिकित्सकले भनेबमोजिम औषधि लिन जाँदा पुजारी अचानक अस्पतालमै ढल्न पुगेका थिए।

अस्पतालले पुजारीको हृदयघातका कारण निधन भएको जनाएको छ। ५२ वर्षीय पुजारी झन्डै ३ दशकदेखि द्वन्द्व कलाकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका थिए। यस अवधिमा उनले साढे २ सयभन्दा बढी फिल्मका लागि द्वन्द्व कलाकारका रूपमा काम गर्दै आएका थिए भने साथीहरूसँग मिलेर रणसंग्राम नामक फिल्म निर्माण गरेका थिए। उनी उपकरण व्यवसायी कम्पनी सिने जोनको सञ्चालकसमेत हुन्।

पुजारीको आइतबार टेकुस्थित एक गुठीमा अन्तिम दाहसंस्कार गरिएको छ। निषेधाज्ञा बीच उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सयौं फिल्मकर्मी टेकु पुगेका थिए। फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत पनि उनीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको परिवारमा श्रीमती तथा एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्