ओसाकाले चलाइन् रंगभेदविरुद्धको अभियान



न्युयोर्क, (एजेन्सी)
जापानकी टेनिस स्टार नाओमी ओसाका हालै एक अभियानमा लागेकी छन्। न्युयोर्कमा जारी यूएस ओपनमा उनले रंगभेदबाट पीडित भएकालाई समर्थन गर्ने अभियान चलाएकी छन्। पहिलो चरणको खेलमा उनले अश्वेत महिला ब्रेओनी टेलरलाई सम्मान दिने क्रममा उनकै नामको मास्क लगाएकी थिइन्।

ओसाका यदि प्रतियोगिताको फाइनलसम्म पुगेमा हरेक खेलमा अलग–अलग अश्वेतका नामको मास्क लगाउनेछिन्। रंगभेदविरुद्ध जागरुक गराउन यस्तो अभियान चलाएको उनले बताएकी छन्। मार्चमा नर्सिङ पढिरहेकी ब्रेओनलाई अमेरिकाको लुइभिलमा प्रहरीले उनकै घरमा गोली हानेर मारेको थियो। त्यहाँको प्रहरी टिम ड्रग तस्करको मामिलामा जाँच गर्न ब्रेओनाको घरमा पुगेको थियो। तर, बे्रओनाको घरबाट ड्रग्स भने भेटाएको थिएन।

ओसाकाले भनिन्– ‘टेनिसलाई विश्व जगत्ले हेर्ने भएको हुँदा सायद कोही यस्तो व्यक्ति होला जसले ब्रेओना टेलरको कहानी जानेको छैन। मेरा लागि यसबारे केवल जागरुकता फैलाउनु हो। मलाई यस्तो लाग्छ कि कहानीको बारेमा जतिलाई थाहा छ, उति नि धेरैले चासो लिनेछन् र यसमा सामेल पनि हुनेछन्।’

गत बिहीबार पनि विस्कन्सिनमा एक अश्वेत जैकब ब्लेकलाई प्रहरीकर्मीले गोली हानेर मारेपछि ओसाकाले वेस्टर्न एन्ड साउदर्न ओपन प्रतियोगिता बिचैमा छाडेकी थिइन्। उनले यस घटनाको विरोध जनाउन सो प्रतियोगिता छाडेकी थिइन्। अन्यमा एनबीए र मेजर लिग सकरका खेलाडीले पनि उक्त घटनाको विरोध गरेर खेल खेल्न अस्वीकार गरेका थिए।

यो घटनापछि यूएस ओपन र एनबीएका आयोजकहरूले सो दिनका सबै खेल रद्द गर्नुपरेको थियो। जबकि, ओसाकाले पछि सेमिफाइनल खेल खेल्न तयार भएकी थिइन् र कोर्टमा पनि ब्ल्याक लाइभ्स म्याटर लेखेको टिसर्ट लगाएकी थिइन्। उनी प्रतियोगिताको फाइनलसम्म पुगेकी थिइन्, तर चोटका कारण फाइनल खेलबाट उनी पछि हट्नुपरेको थियो।

ओसाकाले करियरमा दुईवटा ग्रान्डस्लाम टेनिस उपाधि जितेकी छन्। उनले पहिलोपटक यूएस ओपनमै उपाधि जितेकी थिइन्। सन् २०१८ मा उपाधि जितेकी उनले त्यसपछि २०१९ जनवरीमा भएको अस्टे«लियन ओपन पनि जितिन्। उनले लगातार दुई ग्रान्डस्लाम उपाधि जितेकी छन्। उनी हाल चलिरहेको यूएस ओपनको उपाधिमा प्रमुख दाबेदारीसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्