लुकिछिपी आउनेबाट संक्रमण फैलिने जोखिम बढ्यो, नाकामा कडाई



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पोखरामा एक बैंकमा काम गर्ने २५ बर्षे युवा तीजमा परिवार संग बस्न कुस्मा आए । एक साता भन्दा लामो समय कुस्मा बसेर पोखरा फर्केपछि उनमा कोरोना संक्रमण पुष्टि भयो ।

पर्वतका ६ वटा स्थानिय तहमा समुदायस्तरमा गरिएको परिक्षणमा संक्रमण नदेखिएपछि जिल्लाबासी ढुक्क थिए तर कुस्माबाट फर्केको चार दिनमा नै कोरोना पुष्टि भएपछि फेरी एक पटक जिल्लाबासी झस्किएका छन ।

समुदायमा कोरोना नदेखेएिको कारण नाकामा कडाई गरिएपनि जिल्लाभित्र यातयात, बजार, सबै खुल्ला हुँदा जनजीवन सामान्य जस्तै थियो । तर पछिल्ला दिनमा यसलाई मौका छोपी लुकीछिपी जिल्ला भित्रने क्रम बढेपछि संक्रमणको जोखिम देखिएको छ । जिल्लामा लुकिछीपी प्रबेश गर्नेहरुकै कारण संक्रमणको जोखिम देखिएपछि नाकामा थप कडाई गर्दै आन्तरिक रुपमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला संकट ब्यबस्थापन केन्द्र(डिसीसीएमसी)को निर्णय अनुसार सोमबार राती देखि कम्तीमा एक साताका लागि सार्वजनिक यातयातका साधनहरु बन्द भएका छन । पोखरा तथा बागलुङ्ग र म्याग्दीबाट सडक भन्दा भित्री बाटो प्रयोग गरि पर्वतको सिमाना पार गर्ने र सवारी साधनबाट बजार र गाउँगाउँ पुग्ने गरेको पाइएपछि सार्वजनिक यातयात बन्द गरिएको र नाकामा कडाई भएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । ‘लुकीछिपी आउनेका कारण नै सबैभन्दा जोखिम बढेको देखेर एक हप्ताका लागि सार्वजनिक यातयात बन्द गरेका हौ’ उहाँले भन्नुभयो ‘आबश्यकता हेरेर थप गर्ने वा केही समय खुल्ला गरेर फेरी बन्द गर्ने भन्ने बिषय पछि निर्णय हुन्छ ।’ लुकिछीपी छिरेकाहरुबाट संक्रमण भित्रीएको भए पनि सबै ठाउँमा पुग्न नसकोस भनेर सार्वजनिक यातयात बन्द गरिएको हो उहाँले बताउनुभयो ।

कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि केही दिन यता नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको थियो । बिरामी, अत्याबस्यक सेवा, निर्माण सामाग्री बोकेका र खाध्यान्न बोकेका सवारी साधनहरुलाई प्रबेश दिइएको छ । अन्यलाई नाकाबाटै फर्काइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो । पर्वतमा दाङ्गबाट लुकिछिपी आएर जिल्ला प्रबेश गर्न खोजेका ४५ जना मजदुरलाई फिर्ता पठाइएको छ । रातको समयमा ट्याक्सी र अन्य सवारी साधनले मानिस ओसार प्रसार गरेको गुनासो आएकाले थप कडाई गरिएको उहाँले बताउनुभयो । ‘बिरामीको बहाना गरेर जाने र आउनेले पनि समस्या बनाएका छन,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्