प्लाज्मा दान गरी कोरोना संक्रमितको जीवन बचाउन आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो । यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइन्छ ।

नेपाल चिकित्सक संघको तर्फबाट देशभरका कोरोना भाइरसबाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्नुहुने सम्पूर्ण महानुभावहरुको विवरण संकलन गरी निकट भविष्यमा उहाँहरुलाई ‘प्रशंसा–पत्र’ सहित उच्च सम्मान व्यक्त गर्ने निर्णय गरिएको छ ।

साथै हाल नेपालका विभिन्न ठाउँमा सक्रमणभई निको भएका व्यक्तिहरुले संक्रमणको दौरानमा अपनाउनु भएको सजगता, घर परिवार तथा समाजले प्रदान गरेको हौसला र आवश्यक उपचारका कारण निको भएको अनुभव र संक्रमित हुँदा सिर्जना भएको मानसिक तनाव लगायतका अनुभवहरुलाई सार्वजनिक गरी अन्य संक्रमितहरुको मनोबल उच्च पार्दै उपचारमा नीजहरुकै सहयोग र प्लाज्मा दानबाट जीवन रक्षा गरी समाजमा पुर्नस्थापना गराउन सकिने सन्देश सहितको अभियान संघको तर्फबाट संचालन गरिने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधी तथा इन्जेक्सनको अनुसन्धान भईरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान सावित भएको तथ्यलाई हृदयगंम गर्दै संक्रमित बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुको जीवन रक्षाका निम्ती कोरोना भाइरसलाई पराजीत गर्नुभएका तपाई सम्पूर्ण योद्धाहरुको ‘१ पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने पवित्र कार्यमा संलग्न हुन नेपाल चिकित्सक संघ सबैमा हार्दिक अपिल गर्दछ । यस मानवीय कार्यमा संलग्न हुने तपाईलाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने र तपाईले गर्नुभएको अमूल्य सहयोग र योगदानका कारण अन्य संक्रमित व्यक्तिहरुको समेत जीवन रक्षामा उल्लेख्य सहयोग पुग्ने व्यहोरा समेत अवगत गराइन्छ ।

डा. बद्री रिजाल
महासचिव

प्रतिक्रिया दिनुहोस्