कुरा मिलेमा मेसी म्यानचेस्टरमा पुग्नेछन्



मेड्रिड, (एजेन्सी)

यदि, म्यानचेस्टर सिटीसँग कुरा मिलेमा लियोनल मेसी ५ वर्षका लागि सो इंग्लिस क्लबसँग सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्। सम्झौता भएमा मेसीले वर्षको १ सय मिलियन पाउन्ड र ट्रान्सफर बोनस २ सय ५० मिलियन तीन वर्षमा बटुल्नेछन्। जबकि, बार्सिलोना र लियोनल मेसीले हाल पनि क्यालकुलेटरमा हिसाबकिताब गरिरहेका छन्। युरोपकै सशक्त क्लब बार्सिलोनाले लियोनल मेसीलाई भने त्यसै छाड्न चाहेको छैन। उनीहरू ट्रान्सफर क्लोज पाएपछि मात्रै मेसीलाई छुटकारा दिनेछ। म्यानचेस्टर सिटी भने मेसीलाई अनुबन्ध गर्न ट्रान्सफर क्लोज रकम तिर्न तयार भएको स्पेनको एक अखबारले जनाएको छ।

बार्सिलोना र लियोनल मेसीबीचको लडाइँ कहाँ गएर टुंग्गिनेछ कसैलाई पनि थाहा छैन। यो चाँडै पनि अन्त्य हुन सक्छ या अर्को वर्षसम्म पनि कुर्नुपर्ने हुन सक्छ। म्यानचेस्टर सिटीले यसअघि यूएफाको नियम फेयर प्ले फिनान्सियलविरुद्ध गएको आरोप खेपेको थियो। यसपटक पनि ठूलो रकम तिरेर बार्सिलोनाका सुपरस्टारलाई अनुबन्ध गरेमा सायद यसपटक पनि टोलीले यस्तै आरोप खेप्नुपर्ने हुन सक्छ।

यदि, सबै अवस्थाहरू मिल्दै गएमा म्यानचेस्टर सिटी र लियोनल मेसीले छिट्टै नै सम्झौता पत्रमा हस्ताक्षर गर्नेछन्। उनीहरूको मिलन अर्को वर्षमा हुनेछ, किनभने लियोनल मेसीको बार्सिलोनासँग सम्झौता २०२१ सम्म रहेको छ। अर्को वर्षमा सम्झौता भएमा लियोनल मेसीले इंग्लिस प्रिमियर लिगमा २०२५ सम्म खेल्नेछन्। तर, लियोनल मेसीले म्यानचेस्टर सिटीमा ५ वर्षसम्म खेल्ने छैनन्।

ईएसपीएनले जनाएअनुसार उनले म्यानचेस्टरमा तीन सिजन खेल्नेछन् र त्यसपछि न्युयोर्क सिटीको हिस्सा बन्नेछन्। उनले २०२३–२४ सिजनमा अमेरिकी मेजर लिगमा खेल्ने ईएसपीएनले स्पष्ट गरेको छ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले म्यानचेस्टरमा क्याम्प नाउमा झैं आम्दानी गर्नेछन्। १० नम्बर जर्सीबाट खेल्ने उनले कुल ७ सय ५० मिलियन युरो कमाउनेछन्। उनको सम्झौताअनुसार ५ सय मिलियन रहेको छ तर २ सय ५० मिलियन युरो अमेरिकी मेजर लिग खेलेबापत पाउनेछन्। तर, लियोनल मेसी फ्रिमा इतिहाद आएमा म्यानचेस्टर सिटीले सो बोनस रकम तिर्नेछन्। यसमा समस्या के देखियो भने यसो गर्दा फिनान्सियल फेयर प्लेको नियम तोडिने भएको छ। हाललाई म्यानचेस्टर सिटीले सो रकमलाई स्थगितमा राखेको छ।

अन्य पनि मेसीलाई पछ्याउँदै
म्यानचेस्टर सिटी मात्रै होइन युरोपका अन्य ठूला टिमहरू पनि लियोनल मेसीलाई क्लबमा भिœयाउन कम्मर कसेका छन्। जसमा इटाली ‘सिरी ए’ का युभेन्ट्स र इन्टर मिलान तथा फ्रोन्सेली लिगको पेरिस सेन्ट जर्मेन (पीएसजी) उनलाई ल्याउनेमा आशवादी छन्। यसमध्ये मेसीका बुबा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग लगातार सम्पर्कमा छन्। तर, फ्रान्सेली क्लब पीएसजी मेसीको बुबालाई फकाउन लागिपरेकोे छ ताकि मेसीलाई क्लबमा भित्र्याउन सफल होस्।

यस्तै, इटाली क्लब युभेन्ट्सले पनि मेसीलाई अनुबन्ध गरेर क्रिस्टियानो रोनाल्डोसँगै एउटै क्लबबाट खेलाउने र इतिहास कोर्ने रहरमा छ। यदि, युभेन्ट्स सफल भएमा दुईजना सुपरस्टार एउटै क्लबबाट खेलेको फुटबल प्रेमीहरूले पहिलोपटक हेर्न पाउनेछन्। मेसी र रोनाल्डो एउटै क्लबबाट खेलेमा त्यो क्लब बलियो पनि हुनेछ। स्पेनी ला लिगामा यी दुई खेलाडी एक अर्काविरुद्ध खेलेका थिए। रोनाल्डो युभेन्ट्समा गएपछि ला लिगा खल्लो भएको पनि धेरैले महसुस गरेका छन्।

३३ वर्षीय मेसीको बार्सिलोनासँग अनुबन्ध अवधि २०२०–२१ को सिजनसम्म रहेको छ। गत सिजन कोरोना भाइरसका कारण ढिलो सकियो। तर, यो सिजनमा मेसी उपाधिविहीन पनि भएका थिए। च्याम्पियन्स लिगमा क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले हार्दा नै मेसीले बार्सिलोना छाड्ने तय गरेका थिए। उनको यो निर्णय हालसम्म पनि कायमै छ।

बार्सिलोनाले मेसी बिक्रीका लागि उपलब्ध नभएको बताइरहेको छ। मेसी भने आफूले बार्सिलोना छोड्न चाहेको बताइरहेका छन्। उनले एकपटक बताएका थिए–‘म बार्सिलोनाबाटै करियरको अन्त्य गर्न चाहन्छु।’
तर, हाल मेसी छिटोभन्दा छिटो बार्सिलोनाबाट छुटकारा पाउन खोजिरहेका छन्। मेसी खराब तरिकाले पनि बार्सिलोना छाड्न चाहन्नन्। किनभने, उनले क्लब र क्लबका समर्थकहरूप्रति सम्मान दिएका छन्। यसको मतलब उनी क्लबसँग राम्रो सम्बन्ध राखेर छोड्न चाहेका छन्।

प्रतिक्रिया दिनुहोस्