संक्रमितको संख्या बढेपछि फेरि विद्यालयमै आइसोलेसन



न्युज अफ नेपाल, हेटौंडा ।

भीमफेदी गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड निर्माण गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गाउँपालिकाले महेन्द्र माध्यमिक विद्यालयलाई आइसोलेसनका रुपमा निर्माण गरेको हो । सरकारले विद्यालयमा भएका आइसोलेसन हटाउन र नराख्न भनेको छ ।

गाउँपालिका उपप्रमुख पार्वती रानाले २० बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिनुभयो । हाल आइसोलेसनमा कोरोना संक्रमित नरहेको र अब संक्रमण पुष्टि भएकालाई स्थानीयस्तर मै उपचार गरिने उहाँले जानकारी दिनुभयो ।

कोरोना प्रभावको सुरुदेखि क्वारेन्टाइन सञ्चालनमा आएको भए पनि हाल जिल्लामा कोरोना संक्रमित संख्या बढ्दो क्रमले जिल्लास्थित पनि आइसोलेटेड सेवा स्थान अभावको जानकारीपछि गाउँपालिकाले आफ्नै आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

हालसम्म गाउँपालिकामा ९ जना निको भइसकेका छन् । अन्य गौरीटार आइसोलेसनमा उपचाररत् छन् । गाउँपालिकामा १५ जना कोरोना संक्रमित प्रमाणित भइसकेका छन् । हाल महेन्द्र मावि भीमफेदीलाई आइसोलेसन कक्ष तथा भीमआधार कम्युनिटी स्कुललाई क्वारेन्टाइनका रुपमा सञ्चालनमा ल्याइएको छ । भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रले पहिलो पटक बिरामीलाई रक्त सेवा प्रदान गरेको छ ।

बिगत कोरोना प्रभावले लकडाउन लागु भएदेखि भीमफेदी गाउँपालिका–६ का एक मृगौला दीर्घ रोगले पीडित लामो समय घरमा बसाइका क्रममा श्वासप्रश्वासको समस्या आएर जिल्लास्थित अस्पतालले उपचारमा सहज नभएको जनाएपछि जिल्ला रेडक्रस रक्तभण्डार सेवा (ब्लडबैंक) बाट आबश्यक प्रक्रिया पूरा गरी रगत भीमफेदी ल्याएर रक्त प्रदान कार्य गरेको हो । डा. प्रवीण पाठकलगायत स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा उक्त सेवा पहिलो पटक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्