‘कोरोना भाइरस बालबालिकाको नाकमा तीन दिनसम्म रहन सक्छ’



सोल, (एजेन्सी)

दक्षिण कोरियामा गरिएको स्वास्थसम्बन्धी एक पछिल्लो अध्ययनले बालबालिकाको नाकले तीन दिनसम्म कोरोना भाइरस बोक्न सक्ने खतरनाक तथ्य फेला पारेको छ। यसअघिको अध्ययनले अधिकांश भाइरस संक्रमित बालबालिकामा सामान्य वा कुनै पनि लक्षण नै नदेखिने गरिएको जनाएको थियो। तर, यसै अनुसन्धानले अन्ततः बालबालिकाबाट अन्य व्यक्तिमा भाइरस सर्ने सम्भावना कति छ भन्ने जटिल प्रश्नमाथि प्रकाश पारेको छ।

यस अध्ययनबाट ती बालबालिकालाई विद्यालय फर्किसकेपछि पनि सामाजिक दूरी र असल स्वास्थ्यका नियमहरू अनिवार्यरूपमा पालना गराउनु आवश्यक रहेको विशेषज्ञले बताएका छन्। रोयल कलेज अफ प्याडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका अध्यक्ष तथा प्राध्यापक रस्सेलले बालबालिका र कोभिड–१९ सम्बन्धी तीनवटा प्रश्न ‘१. के बालबालिकालाई भाइरसले आक्रमण गर्दछ? २. तिनीहरूमा भाइरस संक्रमण कतिको गम्भीर हुन्छ? ३. के तिनीहरूले अरूलाई भाइरस सार्छन्?’ रहेको बताएका छन्।

उनले बालबालिकामा पनि विशेषगरी १२ वर्षभन्दा कम उमेरकालाई वयस्कलाई जत्तिकै संक्रमणको खतरा नभए पनि संक्रमणै हुँदैन भन्ने भनाइ गलत रहेको बताएका छन्। उनका अनुसार वैज्ञानिकहरू पनि बालबालिका वयस्कहरू जति बिरामी नपर्ने तथा तिनीहरूमा लक्षण पनि धेरै नदेखिने कुरामा भने ढुक्क छन् । यी तथ्यलाई शुक्रबार सार्वजनिक भएको एक बेलायती अध्ययनले पनि पुष्टि गरिसकेको छ। तेस्रो प्रश्नलाई दक्षिण कोरियाली वैज्ञानिकले सम्बोधन गर्ने प्रयास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्